३१ आश्विन २०७४, मंगलवार

काठमाडौँ । दस वर्षअघि टिकटमा कुरा नमिलेकै कारण बालुवाटारबाट कांग्रेस छाडेको घोषणा गर्दै निस्केका विजयकुमार गच्छदार ठीक दस वर्षपछि बालुवाटारबाटै कांग्रेस फर्किए। ०६४ माघ १८ गते कांग्रेस छाडदा गच्छदारले बालुवाटारमा गिरिजाप्रसाद कोइरालाका सामुन्ने जसरी आँसु झारेका थिए, त्यसैगरी सोमबार पार्टी प्रवेश कार्यक्रममा पनि सम्हालिन सकेनन्।

हुँक्क–हुँक्क गर्दै भावविह्वल भएका गच्छदारको वाक्य नफुटेपछि दुईपटक पानी पिए। बिस्तारै आफूलाई सम्हाल्दै भने, ‘पार्टी छाडदा र मिल्दा बालुवाटारबाटै हुन पुग्यो। यो पनि इतिहासमा गज्जबकै संयोग पर्‍यो।’ त्यतिबेला कांग्रेस नेतृत्वले तराई–मधेसको भावना नबुझेकै कारण आफूले पार्टी छाडेको स्मरण पनि उनले गरे।

पहिलो संविधानसभा निर्वाचनका बेला आफूनिकट तराई–मधेसका केही नेताहरूलाई टिकट दिन तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग उनले आग्रह गरेका थिए। आफूले भनेअनुसार नभएपछि उनी निर्वाचनको मुखमै पार्टी छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरे। तर, अहिले ती विवाद सल्टाएर नै उनी कांग्रेस फर्केका हुन्।

वामपन्थी गठबन्धनको उद्देश्य लोकतन्त्र सिध्याउनु रहेकाले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा आफू प्रतिबद्ध रहेको उनले घोषणा गरे । उनले कम्युनिस्टलाई दुईतिहाइ होइन, बहुमत पनि ल्याउन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘आजैका दिनदेखि नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेससित एकताबद्ध भयो, समाहित भयो ।’

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएका दलित जनजाति पार्टीका यशोदा लामा, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा र थरुहट तराई पार्टी नेपालका अध्यक्ष एवं भूमिसुधारमन्त्री गोपाल दहित भने कांग्रेसमा जान नसक्ने भन्दै अलग भएका छन् ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका अत्यन्त प्रिय पात्र गच्छदार पछिल्लो समय ‘थ्रेसहोल्ड’ को त्रासले पिरोलिइरहेका थिए । स्थानीय चुनाव निश्चित भएपछि गत चैतबाटै कांग्रेससँग नजिकिएका उनी प्रदेश २ मा शरमलाग्दो पराजय र त्यसलगत्तै संघीय समाजवादी फोरम तथा राजपाबीचको सहकार्य भएपछि नराम्रोसँग झस्किए । आफ्नो पार्टीको अस्तित्व बचाउन पनि कांग्रेस प्रवेश उनका लागि एक मात्र विकल्प बन्यो । अन्नपुर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV