३१ आश्विन २०७४, मंगलवार

काठमाडौँ । आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ ।
कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन रहेको छ ।

यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।

यसै दिन भैषशास्त्रका धनन्वन्तरिले अवतार लिएको कथन अनुसार धनत्रयोदशी मानेर वैद्यराजहरूले धन्वन्तरि पूजा गर्ने परम्परा छ । धनतेरस समेत भनिने आजका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलन छ ।

कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइन्छ । धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णुले खुसी भइ बलिराजालाई कात्र्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यमाग गर्न पाउने वरदार दिएको र अन्तिम पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली भगरी झकिझकाउ पारेको कथासँग जोडिएको छ ।

यस्तो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बासगरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई वारदान दिएको मान्यता छ ।

पौराणिक कथा अनुसार बलिराजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने हुँदा आफ्नी बहिनी यमुनाकहाँ गई स्वागत सत्कार पाई पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजागरी बस्त्र, आभुषणहरु दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु भाइ र दिदिबहिनीले आपसी स्नेह, सत्कार र पूजागरी भाईटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरुप यमपञ्चकलाई विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसँग मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV