३० आश्विन २०७४, सोमबार

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबीबीएस प्रवेश परीक्षामा चिट चोर्ने बिद्यार्थी र चोराउने गिरोह फेला परेपछि उक्त परीक्षाको नतिजा स्थगित गरेको छ । चिट प्रकरण पछि परीक्षाको मर्यादामा नै प्रश्न चिन्ह लागेपछि परीक्षाफल स्थगित गरिएको हो ।

शनिबार काठमाडौं उपत्यकाका १७ वटा क्याम्पसमा सञ्चालित प्रवेश परीक्षाको प्रश्नपत्र परीक्षा चल्दाचल्दै बाहिरिएको र केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत चिट चोरेर परीक्षा दिएको पुष्टि भएपछि उक्त परीक्षा नै रद्द गर्नुपर्ने माग विद्यार्थीहरुले गरेका थिए । तर, आइओएमले भने नतिजा मात्र रद्द गरेको छ ।

संस्थानले एक सूचना निकाक्दै ८ जना नक्कली परीक्षार्थी र चिट चोर्ने ३ जना गरी ११ जना अनुसन्धानको दायरामा रहेकाले शनिबार लिइएको परीक्षाको नतिजा प्रकाशन स्थगित गरिएको जानकारी दिएको छ ।

परीक्षामा सहभागी ३३ जना विद्यार्थीले आज उक्त परीक्षा पुन सञ्चालन गर्नुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिल, आइओएम र शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन्। परीक्षामा चिट चोराउने गिरोहलाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसएसपी दिबेश लोहोनीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV