३० आश्विन २०७४, सोमबार
  • विनय तिमल्सिना

इलाम  ।  उमेरले पाका र सबैको माया र ममतामा जीउनुपर्ने उमेर । अझ भनौ जीवनको उत्तारार्धमा पुगेका बृद्धाबृद्धा समाजका मार्गदर्शक हुन् । उसो त हिजो आज बुढेसकालमा छोराछोरी र सन्तानको माया ममतामा बित्नुपर्ने हो तर त्यसो हुदैनन् । बुढेसकालमा बृद्धाश्राममा दिन कटाउनुपर्ने एवं सन्तानको माया र ममताबाट टाढा हुनेपर्ने बाध्यताले जो कोहीको मन खिन्न हुन्छ ।

देवकुमारी घिमिरेलाई उमेरले असी कटायो सन्तानले बृद्धाश्राम पु¥यायो । सन्तानको माया ममता पाएन तर पनि उनी फूलको माया र फूलप्रतिको मायामा नै जीवनको उत्तारार्धको खुसीयाली साट्दै आएकी छन् । महिला जागरण संघ इलामद्धारा संचालन गरेको माईभगवती बृद्धाश्रममा बस्दै आएकी देवकुमारी घिमिरेको दिनचर्या फूलसंगै वित्छ र विहान पनि फूलसंगै उठ्छ । अझ भनौ उठवस नै फूलसंग छ ।

परिवारको माया ममता र परिवारसंगै बस्ने उनको रहर नभएको होईन तर पनि परिवार र सन्तानबाट टाढा रहेकी देवकुमारी फूलसंगै रम्न पाएकोमा नै खुसी देखिन्छन् ।उनी मात्रा होईनन् । अठहत्तर वर्षीया पवित्रा विकले समेत फुलबारीमा काम गर्दा आनन्द लाग्ने बताउनुभयो । परिवारले विर्सिएको बताउने विकले पनि फूल फुलेपछि यहाँ नै आनन्द र खुसी भएको बताउनुभयो ।

इलाम नगरपालिका वडा नम्वर दशमा रहेको बृद्धाश्रम मेची राजमार्ग नजिकै माइखोलाको किनारामा छ । विक्रम संवत २०६३ साल माघ २३ गते स्थापना भएको बृद्धाश्रममा हाल नौ जना बृद्धबृद्धा छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको बृद्धाश्रममा करिब दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ ।

विशेष गरेर यस वर्षको दिपावलीमा बिक्री गर्ने र आम्दानी भएको पैसाले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुकै स्याहारमा खर्च गर्ने माई भगवती बृद्धाश्रम इलामका सदस्य राजेश पराजुलीले बताउनुभयो । सन्तान र परिवारबाट टाढा बस्दै आएका बृद्धा आमाहरु परिवारको माया ममताबाट टाढा रहे पनि फूलसंगको खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV