३० आश्विन २०७४, सोमबार
  • सविता उप्रेती

काठमाडौ । तिहारमा फूल, फलफूल, भाइ मसला लगायतको खपत उच्च दरमा हुने गर्छ । यमपञ्चकका पाँच महत्वपूर्ण दिन मध्येको थप महत्वपूर्ण मानिने भाइटीका दिन यो भाईमसला चेलीहरुले माइतीलाई दिने उत्तम उपहार बन्दै आएको छ । तर यसपटक यही भाईमसला पनि महंगिता चेली माइती दुवैको तिहार महंगिने सम्भावना देखिएको छ ।

हिन्दूहरुको दोस्रो महान चाड तिहारमा भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा सकेसम्म बढी मसला दिने प्रचलन छ । त्यसैले बजारमा मसला पसलमा भीडभाड देख्न सकिन्छ ।मसला किन्ने सर्वसाधारण भने अघिल्लो वर्षभन्दा दोब्बरसम्म मूल्य वृद्धि भएको गुनासो गरिरहेका भेटिन्छन् ।

मसला किन्ने मुख्य समय कुकुर तिहारदेखि गोवद्र्धन पूजाको दिनसम्म हुने गर्छ । चाडपर्वमा बर्षेनी मंहगी हुने गरेको छ । अघिल्लो वर्षभन्दा २० प्रतिशतभन्दा मूल्य बढेको उपभोक्ताहरुले बताउछन् । सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ चासो नदेखाएको उनीहरुको गुनासो छ ।

बजारमा तयारी मसलाका प्याकेट पनि छ्याप्छ्याप्ती पाइन्छन् । मूल्यअनुसार मसला मिसाइएको प्याकेट गाडा, फुटपाथदेखि ठूला ठूला डिपार्टमेन्ट स्टोरसम्मका आकर्षण बनेका छन् । यस बर्षको तिहारमा बजार मंहगो भएको व्यापारीहरुले स्वीकारेका छन् । बजारमा १ सय ५० देखि २ हजार सम्मका भाइ मसला पाइन्छ ।

तिहारमा प्रयोग हुने विशेषगरी काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, ओखर, खजुर, छोकडालगायत पर्दछन् । तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने भएकोले आयातमा निर्भर हुनु पर्ने बाध्यता रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV