३० आश्विन २०७४, सोमबार

बर्दिया । दुइवटा निर्वाचन क्षेत्र तोकिएको बर्दिया जिल्लामा प्रतिनिधिसभा सदस्यका लागी एमाले र माओवादी केन्द्रबीच तालमेल भएपछि बर्दिया एमालेले क्षेत्र नं १ बाट वामदेव गौतमलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । गौतम चुनावको तयारीमा जुटिसकेका छन् । गौतमले  ४ पटक सोही क्षेत्रबाट चुनाव जितेका छन् ।

माओबादीमा कार्यकर्ता तहमै मनमुटाब

वाम एकतापछि क्षेत्र नं. २ माओवादी केन्द्रको भागमा परेको छ । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न माओवादी केन्द्रका नेताबीच हानथाप हुँदा कार्यकर्ता तहमै मनमुटाब उत्र्कषमा पुगेको छ ।

उता नेपाली कांग्रेस बर्दियाले निर्वाचन क्षेत्र नं. २ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणालाई प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । कांग्रेसले देउवालाई सिफारिस गरेपछि चुनाव सहजै जित्न नसकिने माओवादी केन्द्रका कार्यकर्ताको आँकलन छ।

माओवादी केन्द्रको गुलरियास्थित पार्टी कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ मा विष्णु थारुको नाम सर्वसम्मत र क्षेत्र नं २ मा सुरेश पन्त, शन्तकुमार थारु र तिलक शर्माको नाम सिफारिस गरेको थियो ।

क्षेत्र नं. १ बाट एमाले नेता गौतम उठ्ने भएपछि माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं २ मा उम्मेदबार बन्न सो पार्टीका तीन नेताबीच प्रतिस्पर्धा चलेको छ । बैठकको निर्णय उल्टाएर पार्टीले शर्मालाई मुख्य र वैकल्पिकमा पन्त र थारुको नाम केन्द्रमा पठाएपछि विवाद उत्र्कषमा पुगेको हो ।

महाधिवेशन ओयोजक समितिले गरेको सिफारिसलाई उल्टाएर नाम पठाएको भन्दै नेता र कार्यकर्ताबीच गुटबन्दी सुरु भएको छ । गुटबन्दीसँगै नगरसमिति नेतृत्वले भेला आह्वान गर्न थालेका छन् । भेलाबाट सिफारिस नाम केन्द्रमा पठाउने माओवादी नेता बताउँछन्।

पार्टी ईन्चार्ज समेत रहेका शर्माले जालझेल गरेको कार्यकर्ताको आरोप छ । शर्माले पार्टीको लेटरप्याडमा आफूलाई मुख्य उम्मेदवार तथा वैकल्पिकमा पन्त र थारुको नाम राखेर केन्द्रमा पठाएको भन्दै कार्यकर्ताले आपत्ति जनाएका हुन् । दोस्रो संविधानसभा चुनावमा शर्मा क्षेत्र नं २ मा नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए।

निर्वाचन क्षेत्र नं २ मा तीन नगरपालिका र एउटा गाउँपालिका पर्छ । नग पार्टीस्तरीय भेला गरेर उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउने असन्तुष्ट कार्यकर्ताको तयारी छ । यसैक्रममा मधुवन,राजापुर र ठाकुरवावा नगरपालिकामा बिहीबार र शुक्रवार पार्टीनगर अध्यक्षकोे अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत पन्तको नाम सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV