३० आश्विन २०७४, सोमबार

काठमाडौँ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आवश्यक कर्मचारी उपलब्ध नगराउँदा झन्डै साढे नौ लाख भूकम्पपीडितले अझैसम्म पनि आवास बनाउन सकेका छैनन् । प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले ७० प्रतिशत कर्मचारीको अभाव हुँदा सोचेजस्तो काम हुन नसकेको बताए ।

‘प्राधिकरणलाई आठ सय ६७ कर्मचारी आवश्यक पर्नेमा अहिले दुई सय ५५ कर्मचारी मात्रै कार्यरत छन्, ६ सय १२ कर्मचारीको अभाव छ । यसको असर पुनर्निर्माणमा परेको छ, तर सरकारको प्राथमिकतामा कर्मचारी नियुक्ति परेकै छैन,’ उनले भने ।

साढे नौ लाख अझै टहरोमा

प्राधिकरणको तथ्यांकअनुसार भूकम्प प्रभावित सबै जिल्लामा गरी नौ लाख ९६ हजार एक सय ६२ पीडित पहिचान भएका छन् । तर, आवास बनाइसक्ने पीडितको संख्या ५० हजार दुई सय ४५ मात्रै छ । अर्थात्, नौ लाख ४५ हजार नौ सय १७ भूकम्पपीडित अझै पनि टहरामा बस्न बाध्य छन् ।

तथ्यांकअनुसार पहिचान गरिएकामध्ये लाभग्राही सूचीमा सात लाख ६५ हजार ६ सय १८ छन् । त्यसमध्ये अनुदान वितरणका लागि भने ६ लाख ४० हजार २० पीडितसँग मात्रै सम्झौता गरियो ।

सम्झौता गरिएकामध्ये ६ लाख नौ हजार २३ पीडितले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगे । तर, दोस्रो किस्ताबापतको अनुदान रकम लिनेको संख्या ७८ हजार ६ सय ३५ मात्रै छ । तेस्रो किस्ताबापतको अनुदान रकम ७४ सय ५१ जनाले मात्र लगेका छन् । आजको नयाँ पत्रिकामा टेकराज थामीले यो खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV