२९ आश्विन २०७४, आईतवार

काठमाडौँ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्दसूची पेश गरेका छन् । यो सूची तत्काल प्रकाशन भने हुने छैन ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म आयोगले उम्मेदवारको बन्दसूची सच्याउन दलहरुलाई सूचित गर्नेछ । उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्न राजनीतिक दलहरुलाई कात्तिक ६ गतेदेखि १२ गतेसम्म समय दिइनेछ ।

उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा कात्तिक १३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निवेदन दिन सक्ने छन् । त्यसरी नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने र रिक्त ठाउँमा अर्को उम्मेदवार मनोनयन गरी मनोनित उम्मेदवारको नामावली आयोगमा पेश गर्न कात्तिक १४ र १५ गते दुई दिनको समय दिइएको छ ।

कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक हुनेछ । उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिने म्याद कात्तिक १८ गतेदेखि २४ गतेसम्म छ । उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धि दावी विरोधको निवेदन उपर जाँचबुझ र निर्णय गर्ने समय कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म तोकिएको छ ।

उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना मंसिर २ गते प्रकाशन गरिनेछ र त्यसको भोलिपल्ट मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गरिनेछ । मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV