२९ आश्विन २०७४, आईतवार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन चलिराखेको बेला एनआरएनका आईसीसी सदस्य अनुज थापा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले ठगीको मुद्दामा पक्राउ गरेर महानगरीय प्रहरी परिसर, काठमाडौंमा राखेर अनुसन्धान गरिरहेको छ ।

जापानमा बसेर व्यवसाय गर्दै आएका भनिएका एनआरएन सदस्य थापालाई छ करोड रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । जापानी प्रोफेसर यामामोतो हिराकुको छ करोड रुपैयाँ ठगी गरेको आरोप उनलाई छ । परिसरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमति लिई ठगी अभियोगमा अनुसन्धान सुरु गरिसकिएको छ ।

जापानमा रेष्टुरेण्ट व्यवसाय गर्ने थापाले प्रोफेसर हिराकुलाई नेपालमा शिक्षाका अवस्था दयनीय रहेको भन्दै स्कुल खोल्नका निम्ति आर्थिक सहायता लिएका थिए । प्रहरीका अनुसार थापाले स्कुल निर्माणका लागि भन्दै ६ करोड रुपैयाँ लिएलगत्तै प्रोफेसर हिराकुसँग सम्पर्क बाहिर रहेका थिए । सम्झौता अनुसार स्कुल नबनाई उनले निजी घर गाडी खरिद गरेका थिए ।

स्कुल निर्माण भएको झुटो आश्वासन दिँदै आएका थापाले स्कुलबारे कुनै प्रगति विवरण नदिएपछि प्रोफेसर हिराकु आफूमाथि विश्वासघात भएको र रकम ठगिएको निष्कर्षमा पुगेका थिए । प्रोफेसर हिराकुले आफ्नो रकम फिर्ता दिन वा स्कुलको अवस्थाबारे बताउन आग्रह गरेपछि थापा जापानको रेष्टुरेण्ट भाडामा लगाएर बीचको केही समय नेपाल फर्केका थिए । बारम्बार झुक्काउँदै हिँडिरहेका थापालाई पक्रिन हिराकुले लामो समयदेखि प्रयत्न गरिरहेका थिए ।

एनआरएन सम्मेलनमा भाग लिन थापा नेपाल आएको थाहा पाएर प्रोफेसर हिराकुले प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त दिएका थिए । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । विदेशमा बसेर व्यवसाय गर्छु भन्ने एनआरएनका सदस्यहरुमध्ये थापा प्रतिनिधि पात्र मात्र हुन सक्छन् ।

यस्तै विषयमा विदेशमा बसेर काम गर्दै आएका नेपालीहरु पटक पटक विवादमा पनि पर्दै आएका छन् । त्यसैले गैरआवासीय नेपालीहरुबाट राष्ट्र बढी अपेक्षा गरेको हो कि उनीहरुमा बढी महत्वाकांक्षा पलाएको हो ।

यो पहिलो घटना मात्र होइन, विदेशमा रहेका नेपालीहरुलाई समेत नेपालीले नै ठगिरहेको समाचार आएको बेला काठमाडौंमा भेला भएका गैरआवासीय नेपालीहरुले नेतृत्वको हानाहान गरिरहेका बेला यस्तो विषयमा पनि सोच्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV