२९ आश्विन २०७४, आईतवार

राजु कोइराला

काठमाडौं। नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले देशभरमा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई असोज ३१ र कार्तिक १ गते गरी दुई दिने राष्ट्रिय रणनितिक प्रशिक्षण गर्ने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

‘गाउँ जाऔं, नगर जाऔं, जनता जगाऔं, कांग्रेस जिताऔं’ भन्ने मूल नाराका साथ स्थानीय तहको निर्वाचनदेखि नै नेविसंघले देशभरी चुनावी अभियान थालेको उनको भनाई छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभा चुनावलाई लक्षीत गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन देशभरबाट आएका नेविसंघ नेता कार्यकर्तालाई विशेष प्रशिक्षण दिइने अध्यक्ष महरले जानकारी दिए ।

प्रशिक्षणमा नेविसंघका केन्द्रीय समिति सदस्य, क्षेत्रिय सभापति, जिल्ला अध्यक्ष, विभिन्न क्याम्पस इकाई अध्यक्ष तथा स्ववियू सभापतिहरुको उपस्थिति रहने नेविसंघले जनाएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने बताइएको छ । प्रशिक्षार्थीलाई पार्टीका केन्द्रीय सदस्य प्रदिप गिरि, महेश आचार्य लगायतका प्रभावशाली नेताहरुले प्रशिक्षण दिने नेविसंघले जनाएको छ ।

आउँदो प्रदेश सभा चुनाव र प्रतिनिधि सभा चुनावमा बैचारिक एवम् रणनैतिक तवरले नेपाली कांग्रेसलाई विजयी गराउन विशेष रणनीति तयार गर्ने गरि प्रशिक्षणको आयोजना गरिएको अध्यक्ष महरले बताए । देशभरबाट प्रशिक्षणमा सहभागि हुन विद्यार्थी नेता तथा कार्यकर्ता काठमाडौं आउने क्रम जारी रहेको र तयारी समेत तिब्र रुपमा भइरहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV