२९ आश्विन २०७४, आईतवार

काठमाडौँ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा बिलय भएको छ । राजधानीको वालुवाटारमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा भएको छ । २०२६ सालदेखि कांग्रेसबाट राजनीतिक जीवन सुरु गरेका गच्छदारले २०६३ सालमा कांग्रेस त्याग गरेका थिए ।

तराईमा आफ्नो आधार गुमाउँदै गएपछि नेपाल लोकतान्त्रिक फोरम पार्टीको नेतृत्व गर्दै आएका गच्छदार पुन: नेपाली कांग्रेसमै फर्किएका हुन् । लोकतन्त्र स्थापनापछि हरेक जसो सरकारमा सहभागी गच्छदार देउवा नेतृत्वको बर्तमान सरकारमा उपप्रधानमन्त्री सहित सहभागी छन् ।

कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेल

वाम गठबन्धनबाट केही दिनअघि मात्र बाहिरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र नेपाली कांग्रेसले गोरखामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। बालुवाटारमा भएको सहमतिअनुसार गोरखा २ नम्बर क्षेत्रबाट कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गर्नेछ भने १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्नेछ।

कांग्रेस नेता चिनकाजी श्रेष्ठका अनुसार गोरखामा प्रदेश सभामा पनि दुई पार्टीबीच तालमेल हुनेछ। ‘गोरखा–२ को एउटा प्रदेश सभा सदस्य र एउटामा कांग्रेस उठ्ने सहमति भएको छ भने गोरखा –१ का दुबै प्रदेश सभा सदस्यमा नयाँशक्तिले कांग्रेसलाई सघाउने छ’, श्रेष्ठले भने।

वाम गठबन्धनमा सहभागी भएका भट्टराईलाई माओवादी र एमालेले गोरखाबाट टिकट दिन नमानेपछि उनी गठबन्धनबाट बाहिरिएका थिए। भट्टराई दुबै संविधान सभामा निर्वार्चित भएको गोरखा– २ बाट यसपालि माओवादी–एमाले गठबन्धनको उम्मेदवारका रुपमा नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV