२८ आश्विन २०७४, शनिबार

इरानसँगको पारमाणविक सम्झौताको संलग्नता अन्त्य गर्न अमेरिकाले आफू तयार रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पारमाणविक सम्झौताबाट संलग्नता अन्त्य गर्ने बताएका हुन् ।

इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुले ट्रम्पको निन्दा गरेका छन् । पारमाणविक कार्यक्रम सिमित पार्न सन् २०१५ मा भएको सम्झौताको तेहरानले पटक–पटक उल्लंघन गरेको ट्रम्पको आरोप छ । तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले उक्त सम्झौताको इरानले पूर्ण पालना गरिरहेको बताउँदै आएका छन् । ट्रम्पले तत्काल आफूले इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताएका छन् जसअनुसार उक्त सम्झौताको भविष्यबारे अमेरिकी कंग्रेसले टुङ्गो लगाउनेछ ।

पारमाणविक सम्झौतामा भएका कमीकमजोरीहरु सच्याउन आफूले कंग्रेस र अमेरिकी साझेदारहरुसँग मिलेर काम गर्ने बताउँदै ट्रम्पले त्यसमा सुधार नरिए बाहिरिने प्रतिबद्धता व्यक्त गरे । इरानी राष्ट्रपति हसन रुहानीले तेहरान र अमेरिकाले मात्र नभई वेलायत, रुस, फ्रान्स, चीन र जर्मनी समेतले हस्ताक्षर गरेको सम्झौतालाई ट्रम्पले एकलौटी ढंगले कसरी उल्ट्याउन नसक्ने बताएका छन् । युरोपेली संघ इयुले समेत राष्ट्रपति ट्रम्पको विरोध गरेको छ । यता इजरायलले भने इरानसँग भिड्ने ट्रम्पको निर्णय साहसिक भएको भन्दै बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV