२७ आश्विन २०७४, शुक्रबार

 

काठमाडौँ, २७ असोज , प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

बैसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले निर्वाह गरेकोे भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा पनि सोही प्रकारले भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका सराहनीय रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि राष्ट्रको तर्फबाट उच्च प्रशंसा गर्छु भन्नुभयो ।

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न पनि प्रहरीलाई उहाँले निर्देशन दिनुभयो ।देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरीको परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको र त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिनुभयो ।

प्रहरीको कामको मूल्यांकन गर्ने निकाय जनता नै हुन् भन्दै उहाँले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

 

(रासस)

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV