२७ आश्विन २०७४, शुक्रबार

असोज २७, २०७४

राष्ट्रियसभा निर्वाचन सम्बन्धि विधेयक दलीय अडानका कारण संसदबाट पारित नहुने भएको छ । कांग्रेसले एकल संक्रमणीय र माओवादी तथा एमालेले बहुमतीय प्रणालीमा अडान लिएपछि विधेयक अलपत्र बनेको हो ।

संसदको अन्तिम बैठक आजै बोलाइएको छ । राष्ट्रियसभा गठनका लागि नभै नहुने विधेयकमा निर्वाचन प्रणालीबारे विवाद भएपछि संसदबाट पारित नभै अध्यादेशबाट आउने भएको हो । आज दिउँसो ३ बजे रुपान्तरित संसदको अन्तिम बैठक बस्ने तयारी भए पनि विधेयक पारित हुने सम्भावना निकै न्युन रहेको नेताहरु नै बताउँछन् । संसद बैठक बस्नु अघि तीन दलबीच एक पटक सहमतिको प्रयास हुने बताइएको छ ।

रुपान्तरित संसदको कार्यकाल शनिबार सकिँदै छ । दलीय अडानका कारण चलिरहको संसद टारेर अध्यादेशबाट विधेयक जारी गर्ने तयारीमा सरकार लागेको हो । राष्ट्रियसभामा सात प्रदेशबाट ८ जनाका दरले निर्वाचित ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित ३ सहित ५९ सदस्यीय हुनेछ । प्रदेशसभा आठ जना निर्वाचन गर्दा कम्तिमा तीन जना महिला, एक जना दलित र अल्पसंख्यक वा अपांगता भएका व्यक्ति एक जना निर्वाचित गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV