
गोरखा। गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँले १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राऊ परेको छ ।
बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । बलात्कृत बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
आमा सुस्तमनस्थितिकी रहेको र बाबु पनि कामका लागि भारतमा रहेका बालिकालाई वृद्ध मियाँले पटकपटक बलात्कार गर्दै आएको जाहेरीकर्ताले बताएको प्रहरीले जनाए ।
प्रहरीका अनुसार मियाँले १०/२० रुपैयाँ दिएर फकाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । प्रहरीले बालिकाको साथबाट १० रुपैयाँ पनि फेला पारेका छन् ।
रक्तश्राव भएको अवस्थामा उपचारका लागि सदरमुकाम ल्याइएकी बालिकालाई बलात्कार गरिएको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ ।
स्रोत : उज्यालो