२६ आश्विन २०७४, बिहीबार

काठमाण्डौ । व्यवस्थापिका संसदको बुधवार बसेको बैठकले संसदको नियमावलीको उपनियम निलम्बन गरेको छ । बैठकले संसदमा पेश भएको भाषा आयोग विधेयक पारित गर्न संसदको नियमावलीको उपनियम निलम्बन गरेको हो ।

बुधवारको बैठकमा व्यवस्थापिका–संसद् नियमावली १२७ को उपनियम एकलाई बहुमतले निलम्बन गरिएको हो । बैठकले भाषा आयोग विधेयक, २०७३ लाई असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले नियमावलीलाई निलम्बन गर्नुपरेको समेत जनाएको छ । निलम्बनसम्बन्धि प्रस्तावलाई बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले समर्थन गर्नुभएको थियो । त्यसैगरि बैठकले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ। आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रुपमा सदस्य बन्नेछ । बुधवारको बैठकले महत्वपू्र्ण विधेयक पारित गर्ने भनेपनि कुनैपनि विधेयकहरु पारित भने हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV