२५ आश्विन २०७४, बुधबार

प्रदीपराज दाहाल

काठमाडौं । सरकारले हरेक वर्षको बजेट निकाशा गर्ने क्रममा २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरुमा पनि रकम निकाशा गर्दै आएको छ । तर, बजेट निकाशा भएका हरेक आयोजनाहरुको कामले अहिलेसम्म पनि पूर्णता पाएको छैन ।

ठेकेदारको लापरवाही, जग्गा मुआब्जा लगायतका विषयले अलपत्र परेका आयोजनाहरु अघि बढ्ने सम्भावना निकै कम देखिएको छ । विकास समिति, लेखा समिति लगायत विभिन्न समितिहरुले आयोजनालाई तीव्रता दिन विभिन्न निर्देशन दिने गरेका छन् । तर, निर्देशनको वेवास्ता गर्दै ठेकेदारहरु भ्रष्टाचार गर्ने काम अघि नबढाउँदा अधिकांश आयोजनाहरु अलपत्र परेका छन् ।

राष्ट्रिय गौरवका आयोजना भन्ने वित्तिकै मुलुकसँग जोडिएको अत्यन्त महत्वपूर्ण र महत्वकाँंक्षी आयोजना भन्ने बुझिन्छ । यि आयोजनाको निर्माणसँगै नेपालमा समृद्धिको मार्ग प्रशस्त हुने विश्वास लिने गरिन्छ । तर, अहिले प्राय जसो सबै आयोजनाहरुको काम तीव्र गतिमा अघि नबढ्दा सरकारी रकम बालुवा पानी खन्याए झैं भएको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत निजगढ विमानस्थल, पोखरा विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना बनाएर काम सुरु भएको वर्षौ वितिसक्दा पनि आयोजनाको प्रगति विवरणलाई नियाल्ने हो भने काम धिमा गतिमा अघि बढेको छ । कतिपय स्थानमा मुआब्जा विवाद अझै जारी छ भने कतिपय स्थानमा ठेकेदारको लापरवाहीले आयोजना रकम थप्नु भन्दा अन्य केही पनि हुन सकेको छैन ।

भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्टले फिल्डमा काम नगरेकै कारण आयोजन निर्माणको कामलाई अघि बढाउन कठिनाई भईरहेको छ । आयोजनाका प्रमुख ओम शर्माले चिनियाँ कम्पनीसँग कुरा गर्न भाषाको समस्या र कम्पनीको लापरवाहीले काम गर्न असहज भएकोले काममा ढिलाई भएको बताउनु हुन्छ ।

यो विषयमा लेखा समितिले समेत बुधवार सरकारलाई पुनः आयोेजनाको विषयमा पुर्नविचार गर्न सरकारलाई निर्देशन दिएको छ । यता यस अघि नै निजगढ विमानस्थल निर्माण सुस्त भएको गुनासोहरु समेत आएका छन् ।

संसदको श्रम समितिले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन छिटो सम्पन्न गर्न वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको थियो । तर, निजगढ विमानस्थलको काममा समेत अवरोध भइरहेको छ ।

यदि साँच्चै नै राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न सरकार लागिपर्ने र विभिन्न समितिले दिएको निर्देशनलाई मनन गर्ने हो भने नारामा मात्र सीमित बनेका आयोजनाहरु पूरा हुने थियो । र, जनताले वर्षौ देखि बोकेको एउटा सपना साकार समेत हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV