२५ आश्विन २०७४, बुधबार

काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन निर्माण व्यवसायीहरुले माग गरेका छन् । व्यवसायीहरुले नाम नखुल्ने नम्बरबाट धम्कीपूर्ण फोन आउने क्रम जारी रहेको भन्दै अध्यक्षको हत्यारा र धम्की दिनेहरुलाई कानूनी कठ्घरामा उभ्याउन माग गरेका हुन् ।

सोमबार नयाँ वानेश्वरको खरिबोटमा अज्ञात व्यक्तिले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या गरेपछि व्यवसायीहरु आन्दोलित छन् । महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले अध्यक्षको हत्यासँगै नाम नखुल्ने नम्बरबाट अन्य व्यवसायीलाई समेत फोन आउन थालेको भन्दै व्यवसायीको सुरक्षाका लागि सरकारसँग आग्रह समेत गुर्नभयो ।

महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले बुधबार माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV