२५ आश्विन २०७४, बुधबार

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनौट भएको छ । निकै संघर्षपूर्ण खेलपछि चर्चित खेलाडी लिओनल मेस्सीको ह्याट्रिक अर्जेन्टिनाको विश्वकपका यात्रा सुनिश्चित बन्यो ।

अर्जेन्टिना इक्वेडरसँगको खेलमा विजयी बन्दै आफ्नो आगामी विश्वकप यात्रा तय गर्न सफल बनेको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो । तर, अर्जेन्टिना खेलमा फर्कियो । १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुरक्षित पारे ।

मेस्सीको ह्याट्रिकसँगै दक्षिण अमेरिकाका छनौट खेलमा उनी २० गोल गर्न सफल खेलाडीका रुपमा दर्ज भएका छन् । यो जितसँगै अर्जेन्टिना २८ अंकका साथ तेस्रो बनेको छ । दक्षिण अमेरिकी समूहबाट ब्रजिल यसअघि नै छनोट भइसकेको थियो । बाँकी तीन स्थानका लागि पाँच टिम प्रतिस्पर्धामा थिए र, छनोट चरणको अन्तिम खेल निर्णायक थियो । लुइस स्वरेजको दुई गोलको मदतमा बोलिभियालाई ४–२ ले हराएको उरुग्वे दोस्रो स्थानमा रह्यो । पेरुसँग १–१ को बराबरी खेलेपछि कोलम्बियाले चौथो स्थानमा रहेर विश्वकपमा स्थान बनायो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV