२५ आश्विन २०७४, बुधबार

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलहरूसँग सिटमा तालमेल भए मात्र गठबन्धनमा सहभागी हुने जनाएको छ । राजपा नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकमा चुनावी तालमेल तथा गठबन्धनका लागि छलफल गर्न बसेको बैठक यही विषयमा केन्द्रित भएको छ ।

राजपा नेपालले सङ्घीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेससँग पनि चुनावी तालमेल गर्ने निर्णय यसअघि नै गरिसकेको छ तर यी दुई दलसँग सिटमा अझै कुरा मिलेको छैन ।

सिटमा कुरा नमिलेसम्म तालमेल वा गठबन्धनको कुनै अर्थ रहँदैन, त्यसैले गठबन्धन बनाउनुभन्दा पहिले कसले कति सीट पाउने हो त्यसको टुङ्गो लगाउनुपर्ने नेताहरूले कुरा राख्नुभएको राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी गराउनुभयो ।

चुनावी तालमेलका लागि दलका सबै नेता तयार हुनुहुन्छ, यो तालमेल तथा गठबन्धनलाई सबैले सकारात्मक रूपमा लिनुभएको छ तर भोलि गएर सिटमा कुरा मिलेन भने समस्या उत्पन्न हुन्छ, त्यसैले अहिलेदेखि नै त्यसमा गम्भीर हुनुपर्ने सुझाव नेताहरूबाट आएको उपाध्यक्ष लालले जानकारी गराउनुभयो । बैठकमा नेताहरूको बोल्ने क्रम जारी छ ।

राजपा नेपाल र फोरम नेपालले संयुक्त रूपमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट पाउनुपर्ने भनी लोकतान्त्रिक गठबन्धनमा आफ्नो प्रस्ताव पेस गरिसकेका छन् । यी दुई दलले प्रतिनिधिसभाका लागि ५५ र प्रदेशसभाका लागि ११६ सिट पाउनुपर्ने प्रस्ताव गरेका छन् । यी दुई दलले सबभन्दा बढी सिट प्रदेश २ मा माग गरेका छन् ।

यहाँ प्रतिनिधिसभाको ३२ निर्वाचन क्षेत्रमध्ये २४, प्रदेशसभाको ६४ मध्ये ४८ सिट माग गरेको राजपा नेपालले जनाएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा रहेका चार–चार निर्वाचन क्षेत्रमध्ये मधेसवादी दलले तीन–तीनवटा माग गरेको छ ।

काँग्रेसलाई एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र मात्र प्रस्ताव गरेको छ । प्रदेशसभा सदस्यका लागि प्रत्येक जिल्लामा आठ–आठवटा चुनावी क्षेत्र छन् । त्यसमा पनि यी दुई दलले छ–छवटा माग गरेका छन् ।

त्यस्तै मधेसवादी दलले मधेसका जिल्ला रहेको प्रदेश १ मा १० सिटको दाबी गरेको छ । मधेसीको बसोबास रहेको सात जिल्लामा मात्र ती दलले सिट माग गरेका छन् । अरू पहाडी जिल्लामा उनीहरूले कुनै दाबी गरेका छैनन् ।

पाँचवटा चुनावी क्षेत्र रहेको झापामा एक, दुइटा क्षेत्र रहेको इलाममा एक, दुइटा क्षेत्र रहेको उदयपुरमा एक, चारवटा क्षेत्र रहेको सुनसरीमा दुई र छवटा क्षेत्र रहेको मोरङमा तीनवटा सिट मधेसी दलले माग गरेको बताइएको छ ।

उपत्यकासमेत रहेको प्रदेश ३ मा रहेको २८ वटा प्रतिनिधिसभाको क्षेत्रमध्ये मधेसवादी दलले पाँच माग गरेको छ । मकवानपुरमा एक, काठमाडौँमा तीन र ललितपुरमा एक सिट माग गरेको छ । प्रदेशसभाको ६६ मध्ये १५ सिट माग गरेको छ ।

एघारवटा जिल्ला रहेको प्रदेश ४ मा मधेसी दलले दुई सिटको मात्र दाबी गरेको छ । प्रतिनिधिसभाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा एक, कास्कीमा एक सिट माग गरेको छ । त्यस्तै प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमध्ये नौवटा माग गरेको छ ।

त्यसैगरी प्रदेश ५ मा प्रतिनिधिसभाको २६ सिटमध्ये मधेसवादी दलले १० सिट माग गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक, बर्दियामा एक, कपिलवस्तुमा दुई, दाङमा एक, बाँकेमा दुई, रूपन्देहीमा तीन सिट दाबी गरेको छ । यहाँ प्रदेशसभाको ५२ मध्ये २२ सिट माग गरेको छ ।

प्रदेश ६ मा प्रतिनिधिसभाको १२ सिट रहेका छन् । त्यसमध्ये मधेसवादी दलले एक सिट मात्र माग गरेको छ । प्रदेशसभामा छ सिट माग गरेको छ । प्रदेश ७ मा रहेको १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये मधेसवादी दलले तीनवटा सिट माग गरेको छ ।

‘गठबन्धन नबन्न पनि सक्छ’

यसरी मधेसवादी दलको जहाँजहाँ सङ्गठन राम्रो छ, त्यहाँ बढी सिट मागदाबी गरेको छ । काँग्रेसको पनि मधेसका जिल्लामा सङ्गठन राम्रो देखिन्छ तर त्यहीँ मधेसवादी दलले बढी सिट मागेर अप्ठ्यारोमा पारेको नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले बताउनुभयो ।

राजपा नेपाल र फोरम नेपालले ५५ वटा सिट प्रतिनिधिसभाका लागि माग गरेपछि गठबन्धनमा रहेका काँग्रेसले आफैँ कति सिट लिने र अरूलाई कति दिने त्यसैमा अन्योल छ । “राजपा र फोरमले दाबी गरे जतिमा नै अडान कायम राखिरह्यो भने गठबन्धन नबन्न पनि सक्छ”, चौधरीले भन्नुभयो ।

मधेसवादी दलले माग गरेको सिटको बारेमा काँग्रेसले पनि आधिकारिक जवाफ नदिएको राजपा नेपालका वरिष्ठ नेता रामनरेश राय यादवले बताउनुभयो । सिटको तालमेलबारे काँग्रेसबाट जवाफ आएमात्र आफूले केही निर्णय लिने उहाले बताउनुभयो । अहिले कहाँकहाँ कसरी कोसँग तालमेल गर्ने, को को उम्मेदवार हुने विषयमा छलफल चलिरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV