२४ आश्विन २०७४, मंगलवार

काठमाडौँ।लोकतान्त्रिक सत्याग्रही योद्धा संघ नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका र पार्टीमा निरन्तर क्रियाशील रहेका व्यक्तित्वलाई उच्च प्राथमिकतामा राखेर उम्मेदवार बनाउन अनुरोध गरेको छ ।

संघका अध्यक्ष हीराबहादुर प्रधान, सचिव रामेश्वर भूजु, सदस्यहरु, इन्द्रमणि अधिकारी, कृष्ण अमात्य, प्रचण्डदेव मानन्धर, मदनकृष्ण श्रेष्ठ, अन्जनादेवी मधिकर्मी, समिता खड्गी श्रेष्ठ, गोकुल शर्मा, सुरेश सैंजु, साधुराम खड्का र ओम कर्माचार्यद्वारा हस्तक्षरित विज्ञप्तिमा सो अनुरोध गरेका हुन् ।

विसं २००७ सालदेखि हालसम्म विभिन्न समयमा भएका लोकतान्त्रिक एवं प्रजातान्त्रिक पद्धति स्थापनाका लागि योगदान गरेका क्रान्तिकारी योद्धाहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएको छ, विज्ञप्तिमा भनिएको छ– “आगामी मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पनि उक्त पृष्ठभूमि भएको व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर उम्मेदवार बनाउनुपर्दछ ।”

लोकतन्त्रको संस्थागत विकासका लागि लोकतान्त्रिक मर्म भावनालाई बुझन सकेकाहरुको नेतृत्व आवश्यक रहेको महसुस आम जनताले यतिबेला गरिरहेको बताउँदै संघले लोकतन्त्र स्थापनार्थ बलिदानीपूर्ण जीवन बिताउनेहरुको नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभामा नेतृत्व दिन सके सुझबुझपूर्ण कार्य हुने विज्ञप्तिमा जनाएको छ ।

“योगदान नभएकालाई नेतृत्व सुम्पिदै जाँदा अलोकतन्त्रवादी शक्ति हावी हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर नयाँलाई प्रोत्साहित गर्ने र पुरानालाई निरुत्साहित नगर्ने सिद्धान्त र विधिको भरपुर उपयोग गर्नुपर्दछ भन्ने लाग्दछ”–विज्ञप्तिमा भनिएको छ ।

संघले लोकतन्त्रको उपलब्धिलाई संस्थागत गर्नका लागि लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका र पार्टीमा निरन्तर क्रियाशील रहेका व्यक्तित्वलाई उच्च प्राथमिकतामा राखेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवार तय गराउन पुनःध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV