२४ आश्विन २०७४, मंगलवार

काठमाडौं ।एउटै दलको चुनाव चिन्ह प्रयोग गर्ने तयारीमा केही दलहरु देखिएका छन् । गठबन्धनको नाममा एउटै दलको चिन्ह प्रयोग गर्ने बहस भइरहँदा निर्वाचन सम्बन्धि ऐन कानूनहरुको व्याख्या खासै हुन नसकेको देखिएको छ । निर्वाचनसँग सम्बन्धित ऐन कानूनले जुन दलको चुनाव चिन्ह प्रयोग हुन्छ सोही दलको नाममा गणना हुने उल्लेख गरेको छ ।

आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलहरुवीच गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुनका लागि तीव्र प्रतिष्पर्धा भईरहेको छ । अझ एउटै दलको चुनाव चिन्ह प्रयोग गर्ने कतिपय दल तथा व्यक्ति विशेषले तयारी समेत थालेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७४ दफा ११ ले निर्वाचन प्रयोजनको लागि आयोगमा दल दर्ता हुँदा प्रदान गरिएको चिह्न प्रदान गर्ने व्यवस्था उल्लेख गरेको छ ।

संविधानको धारा २ सय ७१ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नका लागि आयोगमा परेका निवेदन अनुसार नै आयोगले चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल बताउँनुहुन्छ ।

निर्वाचन आयोगले तोकेको निर्वाचन चिन्ह बाहेक राजनीतिक दलहरुले एकल तथा संयुक्त चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने तयारी गरेका छन् । राजपा छोडेका हृदयेश त्रिपाठीसहित ५ नेता, नेपाल परिवार दल, नयाँ शक्ति पार्टी सूर्य चिन्ह लिएर आगामी निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।

दलहरुले आफुखुसी सहमति गरेपनि निर्वाचन आयोगले भने जसले जुनसुकै दलको चुनाव चिन्ह लिएर जिते पनि सोही दलको नाममा गणना गरिने स्पष्ट पारेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णय समेत निर्वाचन आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV