२४ आश्विन २०७४, मंगलवार

काठमाडौँ । नेकपा एमालेले मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नसार्न सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन सार्ने कसरतमा नेपाली काँग्रेस लागेको भन्दै लोकतन्त्रमाथि खतरा हुने काम नगर्न काँग्रेसलाई सुझाव समेत दिएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो । सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु आचारसंहिता र कानून विपरितको काम भएको भन्दै बाम गठबन्धन चुनावको तयारीमा जुटिसकेकाले मिति दायाँबायाँ पार्ने कार्य गरे सरकार अप्ठ्यारोमा पर्ने जनाइएको छ ।

‘निर्वाचन सार्ने कल्पनासम्म पनि गर्न सकिदैन, यस्तो सोच्न पनि सकिदैन, कसैले सोच्छ वा सोचेको छ भने त्यो नेपाली जनतालाई सैह्य छैन, हुँदैन,’ बैठकको निर्णय प्रष्ट पार्दै स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्माले भने ।

अध्यक्ष ओली चुनावी कमाण्डर

कार्यकर्ता पंक्तिबाट अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जानुपर्ने दवाव आइरहेको बेला स्थायी समितिले ओलीलाई नै चुनावी कमाण्डर तोकेर कार्यकर्ताको भावनाको सम्मान गरेको छ । ‘अध्यक्ष कमरेडकै नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जाने निर्णय बैठकले गरेको छ, चुनाव परिचालनको संयोजन पनि अध्यक्ष कमरेडले नै गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने ।

यस्तै बैठकले बाम गठबन्धनबीच भएको सहमतिअनुसार छिट्टै सिटहरुको बाँडफाँड गर्ने निर्णय गरेको छ । असोज २७ र २८ गते बस्ने स्थायी समिति बैठकले एमालेका सबै समानुपातिकका उम्मेदवारको नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने निर्णय पनि बैठकले गरेको छ ।

LIVE TV