
व्यापक अनियमितता र भ्रष्टाचार कम गरी शुसासन र न्याय सहितको राज्य स्थापना को लागि भन्दै नेपाली कांग्रेसका धनराज गुरुङले अबको दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गरी भ्रष्टाचार रोक्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ ।
भ्रष्टाचारको जालो यती फैलीएको छ कि यसबाट कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मुलुक समृृद्धितर्फ अघि बढ्न नसक्ने भन्दै प्रस्तावमा भनिएको छ, “मुलुकको नेतृत्व गर्न राजनीति गर्ने नेताहरु पदमा पुगेपछि कमिशनको घनचक्करमा पर्ने, कर्मचारीतन्त्र कमिशनको सेटिङ्गमै व्यस्त रहने, भ्रष्टाचार नियन्त्रण गर्न बनेका निकायहरु आफैँ निकम्मा बन्दै जाने, भएकाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले प्रतिस्थापन गर्नुपर्छ ।”
उक्त प्रस्तावमा विद्युतीय मुद्राले व्यक्तिको कारोबारमा आम्दानी र खर्च पारदर्शी भई भ्रष्टाचार नियन्त्रणमा सघाउ पुर्याउने उहाँको तर्क रहेको छ ।