२४ आश्विन २०७४, मंगलवार

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा असुलीमा सक्रिय गुण्डाहरुको समूह संलग्न रहेको प्रहरीले सुरुवाती अनुसन्धानबाट पत्ता लगाएको छ । सोमबार दिउँसो शान्तिनगरस्थित खरिबोटबाट निजी प्राडोमा चढेर बानेश्वरस्थित मूलसडकतर्फ निस्कने क्रममा तीन गोली प्रहार गरी गौचनको हत्या भएको थियो ।

अनुसन्धान दुई गुण्डा समूहतर्फ

घटनापछि प्रहरीको सारा शक्ति गौचनको हत्यामा संलग्नको खोजीमा केन्द्रित भएको छ । महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) सहितको टोलीले अहिले अनुसन्धानलाई तीब्र पारेको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको मनोज पुनको समूहमाथि प्रहरीले अनुसन्धान बढाएको छ । गत वर्ष बुटवलमा पुनकै समूहले गोली हानेर युवा संघका जिल्ला अध्यक्ष तिवारीको ज्यान लिएको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या यही समूहले गरेको हुन सक्ने प्राराम्भीक अनुमान पनि प्रहरीले गरेको छ । प्रहरी स्रोतले गौचनको हत्याको जिम्मेवारी समेत पुनको समूहका एक सदस्यले नेपाल बाहिरबाट फोन गरेर लिएको जानकारी दिएको छ । दुर्गा तिवारीको हत्या अघिसम्म नेपालमै बस्दै आएका मनोज पुन त्यसपछि भने भारतमा बस्दै आएका छन् । भारतमा बसेर पनि उनले आफ्नो गुण्डा समूहलाई निरन्तर चलायमान बनाइरहेको प्रहरी स्रोत बताउँछ ।

प्रहरी स्रोतका अनुसार अर्को अनुसन्धानको तीर गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलको समूहमाथि केन्द्रित गरिएको छ । प्रहरी स्रोतका अनुसार ठेकेदार तथा व्यापारीहरुबाट करोडौँको मात्रामा रकम असुल्दै आएको बाहुनको समूहले तीन दिनअघि मात्रै गौचनमाथि हातपात गरेका थिए । प्रहरी स्रोतले बाहुनको समूहका गुण्डाहरुले मागेजति पैसा नदिएको भन्दै गौचनलाई कुटपिट गरेको तथ्य सार्वजनिक गरेको छ ।

प्रहरीले यी दुवै समूहबाट गौचनसँग करोडौँ रकम मागिएको प्राराम्भीक सूचना पाएको छ । काठमाडौँका एसएपसपी रवीन्द्र धानुकलाई फोन नै गरेर यो समूहका सदस्यले घटनाको जिम्मेवारी लिएको बताइएको छ ।

एसएसपीलाई ‘सुटर’को फोन कल

आफूलाई लोप्साङ लामा नाम बताउने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरी जिम्मेवारी लिएका छन्। गौचन हत्याको केही समयपछि अन्य व्यवसायीलाई पनि फोनबाट धम्की आएको छ।

लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीपछिरिङ लामालाई फोनमार्फत् धम्की आएकाले उनले बताए। ‘गौचनको के हाल भयो चाल पाइस? पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले भने। काँग्रेस नेतासमेत रहेका लामा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।

सोमबारै रुपन्देहीका दुई व्यवसायीलाई समेत फोनबाट ज्यानको धम्की दिएको उजुरी प्रहरीमा परेको छ। प्रहरीकाअनुसार रुपन्देहीका व्यवसायी सुजु मल्ल तथा पदम ढुंगानालाई फोनबाट ‘काठमाडौंमा के भयो चाल पाइस होला पैसा दिइनस् भने त्यही हालत बनाइदिन्छु’ भन्दै फोनबाट धम्की आएको थियो।

प्रहरीकाअनुसार धम्की आएका फोन नम्बरहरु कुनै पनि देखिएका थिइनन्। सबैमा प्राइभेट नम्बर देखिएको थियो। सुरक्षाको कारण टेलिकम सेवा प्रदायकहरुले विशिष्ट व्यक्तिहरुका फोन नम्बरहरु कल गर्दा नदेखिने र प्राइभेट देखाउने बनाइदिएका छन्। विदेशबाट आउने फोन कल प्राइभेट देखिनु सामान्य मानिन्छ। इन्टरनेटमार्फत् गुण्डा समूहले नम्बर नदेखिनेगरी फोन गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV