२३ आश्विन २०७४, सोमबार

सविता उप्रेती

काठमाडौँ । तिहारलाई फुलैफुलको चाडका रुपमा मान्ने गरिन्छ । सयपत्री र मखमली विना तिहारको झिलिमिली असम्भव नै छ । त्यसैले पनि तिहारमा फुलको व्यापार बढी हुने गर्दछ । यस बर्ष तिहारका लागि ३ लाख माला नेपाल फ्लोरिकल्चर एशोसिएशनले भारतबाट आयात गर्ने तयारी गरेको छ ।

तिहारमा गत बर्ष भन्दा यस बर्ष मालाको माग बढेको छ । नेपालमा यस बर्ष १५ लाख मालाको माग छ । बजारमा ११ लाख सयपत्री मालाको माग रहेकोमा अहिले ८ लाख मात्र उत्पादन हुन्छ । तर, मखमली र गोदावरी फूलको मालाले भने नेपाल आत्मनिर्भर बनिसकेको छ ।

फ्लोरिकल्चर एशोसिएशनका अनुसार तिहारका लागि ३ लाख मखमली र १ लाख गोदावरी फूलको माला बजारमा ल्याउने तयारी गरेको छ । गतबर्ष भारतबाट २ लाख माला आयात गरिएको थियो । प्रत्येक बर्ष ५ प्रतिशतका दरले फूलको आयात घटाउने योजना भएपनि बजारमा माग बढ्दा आयात बृद्धि भएको फ्लोरिकल्चर एशोसिएशनका वरिष्ठ उपाध्यक्ष दिलीप बादेले बताउनु भयो ।

यस बर्ष तिहार अगाडि परेकोले पनि कतिपय स्थानमा सयपत्री फुलीसकेको छैन । जसले गर्दा पनि बढी माला आयात गर्न परेको हो । तर, गत बर्ष नेपालबाट १ लाख माला विदेश निर्यात भएको थियो । विदेशमा रहेका नेपाललीले तिहार मनाउन नेपालबाटै माला मगाउने गरेका छन् । पछिल्लो समय नेपालमा बार्षिक ३० देखि ४० करोड रुपैयाँ बराबरको सयपत्री माला बिक्री हुने गरेको फ्लोरिकल्चर एशोसिएशनका वरिष्ठ उपाध्यक्ष बादेले बताउनु हुन्छ ।

नेपालमा दक्ष जनशक्ति अभाव पुष्प व्यवसायमा ठूलो लगानी तथा धेरै मेहनत गर्न नपर्ने व्यवसाय हो । नेपालमा पढेका युवाहरु युरोप अमेरिका र कम पढेका खाडी मुलुकतिर जाने भएकोले नेपालमा यो व्यवसाय खस्किदै गएको छ । तिहारमा मालाको लागि काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, चितवन, काभ्रे, मकवानपुर लगायत जिल्लामा उत्पादित फूलका माला उपत्यका ल्याइन्छ ।

LIVE TV