२३ आश्विन २०७४, सोमबार

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको छ । अज्ञात व्यक्तिहरुले खरिबोटको प्रयाग मार्गमा गौचनलाई गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका गौचनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।

करिब दिउँसो तीन बजे गौचन बा १३ च ४९४८ नम्बरको ल्यान्डकुजरको अगाडि सिसाबाट गोली प्रहार भएको थियो । प्रहरीका अनुसार उनलाई बायाँ कोखा, कलेजोे र छाती नजिक तीन गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गौचनको गाडीमा पहिला इटा प्रहार गरिएको थियो ।

गोली प्रहारपछि गोली हान्ने व्यक्तिको खोजीका लागि काठमाडौं उपत्यकाका नाकामा कडा सुरक्षा ब्यबस्था गरिएको छ । गौचनको हत्यामा संलग्न रहेकोआशंकामा प्रहरीले गोलि र पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । गौचनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइने पनि प्रहरी जानकारी दिएको छ ।

गौचनको नासो

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन सफल र सरल ब्यवसायीको रुपमा स्थापित ब्यवसायी हुन् । डाँफे कन्स्ट्रक्सनका संस्थापक गौचन निर्माण ब्यवसायी महासंघमा लामो समयदेखि आवद्ध रहदै आएका थिए । गौचन सस्थापक रहेको डाँफे कन्स्ट्रक्सनले काठमाडौको जमलको राष्ट्रिय नाचघर र बबरमहलस्थित काठमाडौं भवन निर्माण गरेको थियो ।

ब्यवसायिक मर्यादा र निष्ठाको पक्षमा रहदै आएका ब्यवसाय गौचनको हत्याले मुलुकको ब्यवसायिक निष्ठामा आक्रमण भएको महासघले जनाएको छ । ठकेदारी पेशा ब्यवसायलाई मर्यादित र सम्मानजक पेशाको रुपमा बिकास गर्न प्रतिबद्ध रहदै आएका ब्यवसायी गौचनले सानो ब्यवसायबाट सफलता हासिल गरी मुलुकको निर्माण ब्यवसायीको नेतृत्व सम्म पुगेको महासघले जनाएको छ ।

मुस्ताङ जन्मिएका निर्माण ब्यवसायी गौचन कास्की पोखरा हुदै काठमाडौ सम्म आफनो ब्यवसाय बिस्तार गरेका थिए । गौचनको नेतृत्वमा बिभिन्न विकास आयोजनाको निर्माण कार्य सञ्चालनमा रहेका छन ।  गौचन परिवारसहित हाल काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए । उनका आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् ।

गाैचनकाे पृष्ठभूमि

मुस्ताङको टुकुचे गाविसमा जन्मेका गौचनले २०३९ सालमा डाँफे कन्स्ट्रक्सन निर्माण कम्पनी स्थापना गरी निर्माण व्यवसायको क्षेत्रमा प्रवेश गरेका हुन् । उनले २०३८ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सर्टिफिकेट लेभल इन सिभिल इन्जिनियरिङ प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।

२०४० सालमा नेपाल ठेकेदार एसोसिएसन, निर्माण व्यवसायी संघमा संलग्न हुँदै आएका गौचन २०५४ सालमा गठित नेपाल निर्माण व्यवसायी महासंघको सचिव भएका थिए । महासंघका तर्फबाट उनी निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफएडब्ल्युपिसिए) को बोर्ड सदस्यका रूपमा अन्तर्राष्ट्रिय सम्मेलन तथा बैठकमा सहभागी भइसकेका छन् ।

सालीन स्वभावका गौचनको कोहीसँग विवाद भएको थाहा नभएको उनी निकट व्यवसायीहरु बताउँछन् । निर्माण व्यवसायीहरुले गौचन सवैसम्म मिल्ने व्यक्ति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले बताए ।

‘मलाई भएको जानकारी अनुसार उहाँको कोहीसँग दुष्मनी थिएन । उहाँ जस्तो व्यक्तिलाई कसैले किन गोली हान्या, अचम्ममा परेका छौं ।’ व्यवसायीहरुले घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV