२३ आश्विन २०७४, सोमबार

काठमाडौं । नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा मनोज पुन समूहले लिएको छ । मनोज पुन समूहले यस अघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।

प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’का खास सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएका हुन् । प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । यसअघि काभ्रेली गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए ।

सोमबार दिउँसो बानेश्वरको खरिवोट नजिकै आक्रमणकारीहरुले ड्राइभर बसेको ठाउँमा ढुंगा र गौचन बसेको ठाउँमा गोली चलाएर भागेका थिए । घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिएपनि उनलाई मृत घोषणा गरिएको थियो ।

गृहमन्त्री जर्नादन शर्माले घटनाको भत्र्सना गरेका छन् । ‘यो घटना गम्भीर छ । प्रतिष्ठित निर्माण व्यवसायीमाथि गोली प्रहार भएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, शर्माले भने । प्रहरीले अपराधीलाई पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ । अहिले राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV