२३ आश्विन २०७४, सोमबार

गोरखा : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले देशलाई समुन्नतितिर लैजाने बताएकी छन् । पालुङ्टारस्थित भवानी बहुमुखी क्याम्पसमा आइतबार शैक्षिक तथा धार्मिक महोत्सवको उद्घाटनपछि राष्ट्रपति भण्डारीले यस्तो विश्वास व्यक्त गरेकी हुन् ।

‘यी सबै निर्वाचन सम्पन्न भइसक्दा नेपालको लोकतान्त्रिक प्रणाली र राज्य पुनःसंरचना प्रक्रियामा महत्वपूर्ण इतिहास रचिने विश्वास व्यक्त गर्न चाहन्छु’, उनले भनिन्, ‘अब हामीले संविधानले अंगीकार गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न ढिला गर्नुहुँदैन । आर्थिक विकासलाई तीव्रता दिन हामी पछि पर्नुहुँदैन ।’

उनले मुलुकको समृद्धिका लागि सबैको साथ र सहयोग रहनुपर्ने धारणा व्यक्त गरिन् । उनले पालुङ्टारलाई सरकारले स्मार्ट सिटी बनाउन लागेको उल्लेख गर्दै यसमा स्थानीय बासिन्दाको उत्साहको प्रशंसा गरिन् । सहरीकरणसँगै शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई जोड दिँदै बृहत्तर गुरुयोजना तयार गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपतिका साथ नेताहरू डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, वाचस्पति देवकोटा र कमला पन्त पालुङ्टार पुगेका थिए । क्याम्पसलाई नमुना शैक्षिक संस्था बनाउन आठदिने महोत्सव आयोजना गरेको गोरखा लिगलिग पालुङ्टार भवानी शैक्षिक तथा धार्मिक महोत्सव मूल आयोजक समितिले जनाएको छ । अन्नपूर्णपोष्ट बाट

प्रतिक्रिया दिनुहोस्
LIVE TV