२२ आश्विन २०७४, आईतवार
  • सुवास लामिछाने

पर्वत । एक दशक अघिसम्म शिक्षकले कक्षा कोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो ।

गाउँ–गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था पर्बतमा पनि हटेको छ । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले प्रविधिमैत्री कक्षा सुरु गरेसंगै पर्बतमा पनि यस्तो प्रविधिको प्रयोग गरी पर्वतको ३ विद्यालयमा भर्चुअल कक्षा संचालन गरिएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्यान्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्ने बनाएसंगै पर्वतको ३ विद्यालयमा पनि भर्चुअल कक्षाको थालनी गरेको हो ।

पर्वतको मोदी गाउँपालिका–५ को सरस्वती मावि, नवज्योति मावि भुकताङ्ले र फलेवास नगरपालिकामा रहेको जनसहयोगी मावि शंकरपोखरीमा भर्चुअल कक्षा संचालन गरिएको हो । उक्त बिद्यालयमा अहिले केन्द्रका शिक्षकहरुले पढाएको प्रत्यक्ष विद्यार्थीहरुले हेर्न र सुन्न मिल्ने गरी कक्षाको व्यवस्थापन गरेर कक्षा सञ्चालन गरिएको छ ।

सानोठिमीस्थित पाठ्यक्र विकास केन्द्रको कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाइएको छ । ति बिद्यालयमा टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरिएको छ । प्रत्यक्ष रुपमा टेलिभिजन सेटबाट कक्षा शुरु भएपछि बिद्यार्थीहरु समेत उत्साहित भएका छन् ।

भर्चुअल कक्षा मार्फत अध्ययन गराउँदा विद्यार्थीहरुले धेरै ज्ञान हासिल गर्न सकेको विद्यालयका शिक्षकहरुको भनाई छ ।
सानोठिमीको स्टुडियोबाट ११ बजे विषय शिक्षकले पढाउन सुरु गर्छन् । कक्षा सुरु हुनुअघि नै विद्यार्थीहरू भर्चुअल कक्षामा बस्छन् । जुन विषय हो, त्यो विषय शिक्षक पनि सँगै बस्छन् ।

काठमाडौंमा बसेर पढाउने शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि विद्यार्थीले आफूले नबुझेको कुरा आफ्नै विद्यालयका विषय शिक्षकलाई सोध्न सक्छन् । यसरी पूरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV