२१ आश्विन २०७४, शनिबार

एजेन्सी । एपीवान एचडी टेलिभिजनको बहुचर्चित रियालिटी शो नेपाल आइडलमा भाग लिएर चर्चामा रहेका सुरज थापाले कोरियामा रहेका नेपालीलाई पुनः भावुक बनाएका छन् । कोरियन पर्व ‘छुसक’को अवसरमा अर्घाखाँची सम्पर्क मन्चले गरेको सुपा देउराली सांगितिक सौगात भाग १ मा सुरज थापाले झलकमान गन्धर्वको ‘आमाले सोध्लिन नी खोइ छोरा भन्लिन्।।’ गीत गाइरहँदा उपस्थित नेपाली दर्शक भावुक भएका थिए भने दर्शकको आग्रहपछि थापाले सोही गित पुनः गाएका थिए ।

नेपाल आइडलका ‘टप टेन’ भित्र रहेका गायक आउने खबरपछि राजधानी सिउलको जोङनो ओगास्थित हल दर्शकले खचाखच भरिएको थियो । सुरजको प्रस्तुतिले दर्शकहरु मन्त्रमुग्ध समेत भएका थिए । सुरजले नेपाल आइडलको गाला राउण्ड अन्तर्गत बाइसौं संस्करणमा झलकमान गन्धर्वले गाएको भावुक गीत गाउँदा आइडल हेर्ने विश्वभरका दर्शकबाट वाहवाही पाएका थिए भने उनले सो इपिसोडमा ‘यामाहा सलुटो पर्फमर अफ द डे’ अवार्ड समेत हात पारेका थिए।

सांगितिक सौगातमा नेपाल आइडलका गायक सागर आले, चर्चित लोक गायक रामजी खाँड, सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले र डान्सर रश्मी तामाङले आफ्ना प्रस्तुति पस्केका थिए।

 

LIVE TV