२० आश्विन २०७४, शुक्रबार

पाँचथर । जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकेर फरार भएका तीन दोषीलाई पक्राउ गरी आज जिल्ला कारागारमा कारागार चलान गरिएको छ ।

पक्राउ पर्नेमा चोरी मुद्दाअन्तर्गत एक महिना १३ दिन कैद र रु ४६ हजार ४४० जरिवाना तोकिएका नागिन गाउँपालिका–७ का किरण थाम्सुहाङ, आगो लगाएको मुद्दाअन्तर्गत चार वर्ष कैद सजाय तोकिएका फिदिम –६ का विष्णुकुमार भट्टराई र सवारी ज्यान मुद्दाअन्तर्गत पाँच दिन कैद र रु दुई हजार जरिवाना तोकिएका हेमप्रसाद दर्जी छन् ।

उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा बुझाएको र कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।
मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालयले अवैध सिक्किमे रम र हिटबियर बरामद गरी नष्ट गरेको छ । रु एक लाख ४० हजार सात सयको अवैध १५६ बोतल रम र १२६ बोतल हिटबियर नष्ट गरिएको हो ।
बरामद गरिएका उक्त वस्तु जिल्ला अदालत, उद्योग वाणिज्य संघ तथा पत्रकारको रोहवरमा प्रहरी कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ । सीमावर्ती स्थान भएकाले प्राङबुङ, मेमेङ र सिदिनबाट बढीजसो अवैध रकम र हिटबियर भित्रने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV