२० आश्विन २०७४, शुक्रबार

रिया भण्डारी

काठमाडौँ । अस्पतालको आकस्मिक कक्ष अत्यन्तै गम्भीर र अकस्मात हुने स्वास्थ्य समस्याको लागि गरिएको व्यवस्था हो । तर नेपालका ठूला अस्पतालहरुकै आकस्मिक कक्ष हेर्दा लाग्छ अस्पतालहरु आकस्मिक कक्षको व्यवस्थापनमा चुकिरहेका छन् । इमर्जेन्सी बिशेषज्ञहरुले नै नेपालका ठूला अस्पतालका इमर्जेन्सीहरु समेत मापदण्ड बिपरित रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै पनि अस्पतालको आकस्मिक कक्षमा ट्रियाज अर्थात गम्भीर बिरामी छुट्याउन प्रणाली र आकस्मिक मेडिसिन नै अध्ययन गरेको दक्ष चिकित्सक हुनुपर्छ ।

तर नेपालका अधिकांश जिल्ला अस्पतालका आकस्मिक कक्ष अहेव र एचएको भरमा सञ्चालित छन् । वीर अस्पतालका इमर्जेन्सी बिज्ञहरुका अनुसार अस्पतालको आकस्मिक कक्षमा आएका भर्ना गर्नु परेमा कहिले वार्डको शैया खाली हुँदैन त कहिले आइसीयुको इमर्जेन्सीकै शैयामा बिरामीलाइ पर्खाएर राख्नु पर्ने हुँदा अस्पतालको आकस्मिक कक्षमा भीडभाड हुन्छ ।

आकस्मिक कक्षमा हरेक ६ फिटको दुरीमा बेडहरु राख्नु पर्ने मापदण्ड छ तर नेपालका केन्द्रीय अस्पतालमै इमर्जेन्सीमा एउटै शैया मापदण्ड विपरित कोचाकोचरुपमा बिरामी राख्नु पर्ने स्थिति छ । यसले चिकित्सकहरुलाइ उपचार सेवा दिन मुस्किल त छ नै साथै एक बिरामीको रोग अर्को बिरामीमा सर्ने सम्भावना समेत उत्तिकै छ ।

वीर अस्पतालका इमर्जेन्सी बिशेषज्ञ डा न्यूच्छेमान डंगोलका अनुसार सर्वसुलभ मुल्यमा उपचार गर्न पुगेका नागरिक अस्पतालको कहिले बेड त कहिले आइसीयु खाली नभएपछि चिकित्सकले रिफर गर्दा समेत अन्य अस्पतालमा गएर उपचार गर्ने हैसियत नहुँदा जान नमान्ने अनुभब सुनाउनु हुन्छ ।

अस्पतालको आकस्मिक कक्ष ब्यबस्थापन र मापदण्ड बिपरित हुँदा गुणस्तर स्वस्थ्य सेवा दिन नसकिएकोले यस प्रति गम्भीर हुन चिकित्सकहरुले ध्यानाकर्षण गराएका छन् । उसो त जनसंख्याको अनुपातले धान्न नसक्ने नेपालका अस्पताल र त्यसमाथिको इमर्जेन्सी सेवामा भएको कम क्षमताले विरामीले थप सास्ती भोग्दै आएका छन् । बिशेष चिकित्सा भित्र पर्ने अस्पतालको इमर्जेन्सीको ब्यबस्थापन गतिलो बनाउनु तर्फ ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV