२० आश्विन २०७४, शुक्रबार

काठमाडौँ । अमेरिकी डलरको भाउ महंगीएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार यो साता अमेरिकी डलरको भाउ महंगीएको हो । नेपाल राष्ट्र बैकले शुक्रवारका लागि एक अमेरिकी डलरको भाउ १ सय ४ रुपैयाँ ५३ पैसा तोकेको छ । साताको सुरुमा डलरको भाउ १ सय ५ रुपैयाँ ११ पैसासम्म पुगेको थियो । लामो समयदेखि डलरको भाउ १ सय २ रुपैयाँको हाराहारीमा रहेको थियो ।

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ । १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ । चीनको अर्थतन्त्रमा संकुचन आएको तथ्यांक सार्बजनिक भएपछि डलर बलियो हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरले पहिलो पटक २०७० भदौ ४ गते १ सय रुपैयाँको स्तर उक्लिएको हो । त्यसपनि निरन्तर वढेर डलरको भाउ १ सय १० रुपैयाँसम्म पुगेको थियो । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । चालु आर्थिक बर्षको पहिलो महिनामा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ ।

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ । यद्यपि नेपाली बजार आयातमा भर पर्ने भएकाले मूल्य महंगो हुने अनुमान गरिएको छ ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । डलरको भाउ लगातार बढ्ने अनुमान गरिएको छ जसका कारण उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै आयातित उपभोग्य वस्तुको मूल्यमा देखिने गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV