२० आश्विन २०७४, शुक्रबार

काठमाडौँ। वर्षेनी डुबानमा पर्ने पश्चिम नेपालका तराई क्षेत्रमा हुने धनजनको क्षति न्यूनीकरण, उद्धार तथा राहतका लागि आज रबरको मोटरबोट हस्तान्तरण गरिएको छ ।

केयर नेपालको हरियो वन कार्यक्रममार्फत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आज कैलाली जिल्लाको धनगढीमा एकपटकमा बाह्रजना सम्मको उद्धार गर्न सकिने अत्याधुनिक रबरबोट प्रजिअ गोविन्द रिजाललाई हस्तान्तरण गरिएको हरियो वन कार्यक्रमका कार्यक्रम संयोजक देवराज गौतमले जानकारी दिनुभयो ।

वर्षेनी बाढी र डुबानका कारण ठूलोमात्रामा हुने धनजनको क्षति न्यूनीकरण र उद्धारमा हुने कठिनाइलाई मध्यनजर गर्दै रु १० लाखभन्दा बढी मूल्यको एउटा मोटरबोट, लाइफ ज्याकेट लगायतका सामग्री हस्तान्तरण भएपछि बाढीपीडितको उद्धारमा सहज हुने उहाँको भनाइ छ ।

सो रबरबोट वर्षेनी बाढी र डुबानबाट अति प्रभावित हँुदै आएका कैलालीका दक्षिणी क्षेत्रमा बाढीबाट हुने क्षति न्यू्नीकरण र उद्धारका लागि उपयोगी हुनेछ । राहत तथा उद्धारका लागि थप रबरबोटको समेत आवश्यकता रहेको र त्यसका लागि आवश्यक पहल भइरहेको केयर नेपालले जनाएको छ ।

तराई क्षेत्रमा वर्षेनी बाढी र डुबानका कारण ठूलोमात्रामा धनजनको क्षति हुने गरेको छ । सो परियोजनाले आफ्नो दोस्रोचरणको कार्यक्रमअन्तर्गत दिगो विकासमा प्राकृतिक स्रोतको व्यवस्थापन र विपद् व्यवस्थापनका आवश्यक तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV