१९ आश्विन २०७४, बिहीबार

सुमन कार्की
पाल्पा । पाल्पा तिनाउँ गाँउपालिकाको मस्यामका किसानहरु कागती खेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । कागतीको बजार मूल्य राम्रो भएको कारण मस्यामका किसानहरु केही बर्षदेखी कागती खेतीमा लागेका हुन ।

अन्न खाद्यान्य बाली तथा तरकारी खेती भन्दा मेहनत कम र आम्दानी बढी हुने भएपछि मस्यामका करीव २० जना किसान व्यवसायिकरुपमै कागती खेतीमा संलग्न भएका हुन । वनजंगलको नजिक जंगली जनावर मृग, दुम्सी, खरायो र बादर आतंकबाट पीडित भएका मस्यामका किसानहरुले विकल्पको रुपमा कागती खेती शुरु गरेका हुन । बारीमा लगाएको मकै भटमास, दाल लगायतका खाद्यान्न बाली बादरले सखाप पारेकै कारण उनीहरुले अन्य खेती खेतीपाती छाडेर कागती खेतीमा केन्द्रित भएका हुन ।

२०७० सालदेखि कागती खेती शुरु गरेकी भण्डारीले पहिलो बर्ष १ सय बोट, दोस्रो बर्ष १ सय बोट तेस्रो बर्ष १ सय बोट गरी अहिले ४ सय बोट कागती रोपेकी छन । अहिले १ सय बोटबाट करीव १ लाख ५० रुपैयाको कागती बिक्रि गरेको गोमाले बताउनु भयो । बजारको कुनै समस्या छैन, घरबाटै प्रतिवटा ३ रुपैया पचास र प्रति केजी १ सय रुपैयामा कागती बेच्दै आएको उहाँले बताउनु भयो ।

गोमाले कागतीबाट मात्र बार्षिक १५ देखी २० लाख रुपैया कमाउने लक्ष्य रहेको बताउनु भयो । बादर तथा अन्य जंगली जनावरको विकल्पको रुपमा कागती खेती पाल्पामा फष्टाउदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV