१९ आश्विन २०७४, बिहीबार

काठमाडौ । सानो मुलुकमा कति धेरै राजनीतिक दलहरु । अझ तिनका कार्यकर्ताको झुण्डको बखान गरि साध्य छैन् । कतै जनताभन्दा कार्यकर्ता नै बढी पो छन् कि भन्दै व्यंग्य समेत हुने गरेको छ । यही पृष्ठभूमिमा दलहरु यतिवेला गठबन्धन र कार्यगत एकतामा रौसिएका छन् ।

संसदका दुई ठूला वाम शक्ति एमाले र माओवादी केन्द्र कार्यगत एकताका लागि एक ठाउँमा उभिएपछि तरंगित बनेको राजनीतिमा अर्को ठूलो लोकतान्त्रिक दल कांग्रेसले थालेको गठबन्धनले अब दलको संख्यामा कमी ल्याउने आशा गर्न सकिन्छ । तर, प्रश्न उनीहरुको उद्देश्य के हो ? मुलुकको हितमा गठबन्धन प्रयोग होला कि नहोला भन्ने आशंका उस्तै छ ।

थोरै दल हुनु आफैंमा सकारात्मक पाटो मान्न सकिएला । धेरै दलहरुको भिड मात्र जम्मा हुनुभन्दा सिमित विचारशिल उर्जावान दलहरु निर्माण हुनु मुलुकका लागि फाइदा जनक नै हुन्छ । वैचारिक मान्यतामा समान धारणा रहेका दलहरु एक ठाउँमा उभिनु अस्वभाविक होइन । तर, एक अर्कालाई खुइल्याउन वा प्रतिक्रियाको राजनीति प्रायः मुलुक र जनताको हितमा हुँदैन । अझ नेपाली परिवेशमा सत्ता स्वार्थमा कहिले जोडिने त कहिले शत्रुत्वसम्मको व्यवहारमा उत्रिने राजनीतिक दलहरुको परम्परागत व्यवहारले गठबन्धनको भविष्य र गठबन्धनबाट मुलुकले पाउने फाइदा गौण बन्न सक्ने तर्फ सचेत हुन आवश्यक छ ।

दलीय गठबन्धनको उद्देश्यको चर्चा उत्तिकै रहला, अर्को तर्फ विपरित धारका दलहरुलाई खुइल्याउन बनाउन खोजिएको मात्र हो भने वाम गठबन्धनको औचित्य कति रहला । अर्को तर्फ वाम गठबन्धन विरुद्ध मात्र बनाउन खोजिएको हो भने कांग्रेस नेतृत्वको अर्को लोकतान्त्रिक गठबन्धन राजनीतिक प्रतिक्रिया मात्र बन्न सक्छ ।

मुलतः राजनीतिले निम्त्याएका निराशाहरुलाई सम्बोधन गर्न दलीय गठबन्धनहरु कति सफल रहलान वा जनतामा गठबन्धनका प्रयाप्त बहसहरु हुन पाएकी पाएनन् ? यी र यस्ता प्रश्नका उत्तर दिन यतिवेला राजनीतिक नेतृत्व सफल बनेको देखिदैन । लोकतान्त्रिक मुलुकमा जनता सर्वोपरि हुन् । हरेक राजनीतिक घटनाक्रमले जनस्तरसम्म औपचारिक बहस पाउन आवश्यक छ ।

बदलिदो राजनीति र मुलुकको भविष्य निर्माणमा मुख्य अन्तरवस्तु मानिएको संविधान कार्यान्वयनको पाटो महत्वपूर्ण मानिएका बेला बढ्दो दलीय ध्रुवीकरणले स्थिरता स्थापित गर्न सक्ला कि नसक्ला ? तमाम प्रश्नहरुको सम्बोधन आवश्यक छ । निरुत्तरित प्रश्नहरुले मुलुकको आगामी भविष्य कहाँ पु¥याउला ?

भौगोलिक संवेदनशीलतामा घेरिएको मुलुक भित्रको अस्थिरताले कोही कतै कसैलाई फाइदा पुग्ला तर मुलुकको भविष्य के हुने हो ? शंका उस्तै छ । अहिले बनेका र बन्दै गएका गठबन्धनले मुलुकको स्थायीत्वमा काम गर्न किंचित पछि नपरुन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV