१९ आश्विन २०७४, बिहीबार

काठमाडौँ। कान्छो जिल्ला पूर्वी रुकुममा आज जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र नेपाल प्रहरीको जिल्ला कार्यालय स्थापना भएका छन् ।

गृहमन्त्री जनार्दन शर्मा, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, गृहसचिव लोकदर्शन रेग्मी, सामान्य प्रशासन सचिव मोहनकृष्ण सापकोटा, सांसदद्वय गणेशमान पुन र दलजीत श्रीपाइलीले ती कार्यालयको रुकुमकोटमा उद्घाटन गर्नुभयो । सो अवसरमा गृहमन्त्री शर्माले लामो समयदेखि पूर्वी रुकुमका जनताले माग गर्दै आएको फरक जिल्ला स्थापना गर्ने कार्यमा सफलता मिलेको बताउँदै सरकारका तर्फबाट प्राप्त हुने सबै सेवा प्रदान गर्न जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले स्रोत र साधनको परिचालन गरेर जिल्लालाई नमूना जिल्लाका रुपमा विकास गरिने छ भन्दै इमान्दार भएर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत रुकुम जिल्लाको सदरमुकाम रहेको रुकुमकोटबाट ४२ वर्ष पहिले जिल्ला सदरमुकाम मुसीकोट सारिएपछि स्थानीयवासीले असन्तुष्टि राख्दै आएका थिए । नेपालको संविधानको घोषणासँगै पूर्वी रुकुमलाई छुट्टै जिल्लाका रुपमा मान्यता दिइएको हो । विगतमा जिल्ला छुट्याउँदा विरोध गर्नेहरुले हाल किन फरक जिल्ला बनाइएको रहेछ भन्ने थाहा पाएको बताउँदै गृहमन्त्री शर्माले जनतालाई नै केन्द्रमा राखेर सरकारले निर्णय गरिएको स्पष्ट पार्नुभयो ।

फरक एक प्रसंगमा नेकपा(माओवादी केन्द्र)का शर्माले मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ माओवादी केन्द्र, नेकपा (एमाले) र नयाँ शक्ति नेपाल एकीकृत पार्टी निर्माणमा सहमत भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने र देशमा समाजवाद लागू गर्ने लक्ष्यका साथ वाम मोर्चाको अवधारणा अगाडि बढाइएकाले त्यो कार्ययोजना कोही कसैप्रति परिलक्षित नभएको उहाँले उल्लेख गर्नुभयो । दुई ठूला कम्युनिष्ट पार्टीको एकता प्रक्रियामा अरु वाम शक्ति र लोकतान्त्रिक एवं प्रगतिशील शक्ति पनि एकै ठाउँमा आउने उहाँको विश्वास छ ।

कार्यक्रममा गृहराज्यमन्त्री श्रेष्ठले कान्छो जिल्लालाई साधन र स्रोत सम्पन्न बनाएर नमूना जिल्ला बनाइने र त्यसमा सरकारका तर्फबाट सबै प्रकारको सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । गृहसचिव रेग्मीले सिस्ने गाउँपालिकाको केन्द्रमा रहेको रुकुमकोटमा प्रमुख तीन कार्यालयको स्थापनासँगै अरु सरकारी कार्यालय पनि स्थापना गर्दै जाने सोचमा सरकार रहेको जानकारी दिनुभयो । कार्यक्रममा सांसद पुन र श्रीपाइली तथा पूर्वी रुकुम जिल्ला समन्वय समितिका संयोजक गञ्जबहादुर घर्तीले नयाँ जिल्ला कार्यालयको स्थापनाले भावनात्मक रुपमा पनि पूर्वी रुकुमलाई एकै स्थानमा ल्याएको बताउनुभयो ।

LIVE TV