१९ आश्विन २०७४, बिहीबार

बैंकक । थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहनुभएको पुष्टी भएको समाचार छ ।

थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो समाचारको पुष्टी गर्नुभएको राजधानी बैंककबाट प्राप्त समाचारमा जनाइएको छ ।

बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताउनुभयो । उहाँले थाई विदेश मन्त्रालयले प्रारम्भिक जानकारीमा सो कुरा पत्ता लागेको र उहाँ हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बसेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वाेच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो । सोही बेला उहाँ अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले जनाएका छन् ।

पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ ।

त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ । उहाँ सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो ।

तर उहाँको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उहाँलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो ।

LIVE TV