१९ आश्विन २०७४, बिहीबार

काठमाडौं । जुट्नभन्दा बढी फुट्न जानेका वामपन्थीमध्ये ठूला दलले एउटै कम्युनिस्ट केन्द्रका लागि गरेको संकल्पले राजनीति ध्रुवीकरणको दिशामा जान थालेको छ। अहिलेलाई निर्वाचनमा तालमेल र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सैद्धान्तिक सहमति एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले भनेजस्तै पूरा होला त ? आशंका उब्जिएको छ।

नेपालका कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा फुटको इतिहास बढी छ। सैद्धान्तिक–राजनीतिक विषयमा मतान्तरभन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद–प्रतिष्ठा र अवसरकै कारण कम्युनिस्ट पार्टीहरू जुट्ने–फुट्ने गरेको पाइन्छ। कम्युनिस्ट पार्टीकै नेता–कार्यकर्ता ‘वाम पार्टी एकताको महाअभियान’ टिक्ला–नटिक्ला, यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्थामा देखिन्नन्।

यद्यपि, एमाले र माओवादी केन्द्रका नेता समाजवादको आधार निर्माण गर्दै विश्वलाई नै नयाँ सन्देश दिने ऐतिहासिक आवश्यकता र आकस्मिकताको ‘द्वन्द्ववाद’बाट आएको परिघटना भएकाले टिकाएर परिणाममुखी निकास दिनुपर्ने बताउन थालेका छन्। मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले त एमाले एकता प्रक्रियासँग अभ्यस्त रहेको भन्दै विभाजनभन्दा एकता प्रवाहमा आश्वस्त पार्न समय खर्चिए।

पार्टी स्थापनाको ६८ वर्षमा कम्युनिस्ट पार्टीहरू झन्डै दुई दर्जनको संख्यामा विभाजन भएका छन्। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा चार वर्षदेखि नै विभाजनको बीउ रोपिएको थियो। एमाले–माओवादीको इतिहासमा भने पाँच दशकको सम्बन्धविच्छेदपछि पुनर्मिलन प्रयास भएको छ।

पार्टी एकतामा रहेका यी दुई प्रभावशाली वाम पार्टी ५५ वर्षपछि सगोलमा आउने कसरतमा छन्। यी दुई वाम शक्ति २०१९ सालको तेस्रो महाधिवेशनपछि दुई धारमा विभाजित भएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

LIVE TV