१८ आश्विन २०७४, बुधबार

स्पृहा श्रेष्ठ

दशैंको संकेत हुन आकाशमा उड्ने चंगाहरु । आकाश र धर्तीको मिलनको माध्यम पनि मानिन्छ चंगालाई । धार्मिक मान्यताको विश्वास गर्ने हो भने अब पानी पुग्यो भनेर इन्द्रलाई सन्देश पठाउने वाहक पनि हो चंगा । तर काठमाडौं मात्र नभई सिंगो नेपाली आकाशमा चंगाको उडान दुर्लभ बन्दै गएको छ । चंगाहरु उड्न छाडेपछि चंगा र लट्टाईको व्यापारमा मन्दी आएको छ । चंगा उडाउन रहर गर्ने युवा पुस्ता तथा केटाकेटी मोवाईल र इन्टरनेटमा कोठा भित्रै रम्न थालेपछि चंगा चुडिएको चंगा झै कतै विलिन बनेको जस्तै भएको छ ।

नेपाली समाजमा चङ्गा उडाउनुलाई मनोरञ्जनमा मात्र सीमित राख्न मिल्दैन । चंगा उडाउनुको धार्मिक, सामाजिक तथा बैज्ञानिक कारणहरु कायम नै छ । चंगा उडाउनुलाई शुभसगुनकारूपमा मान्ने संस्कार कायम छ । लोककथा र किंवदन्ती अनुसार, वर्षायाममा परेको प्रशस्त पानी पछि मौसमले शरद ऋतुको स्वागत गर्दै धान पाक्ने बेला पनि भइसकेको हुन्छ । त्यसैले जलका देउता इन्द्रलाई पानी पुग्यो प्रभू भनेर चङ्गा उडाएर सन्देश पठाउने गरेको विश्वास गरिन्छ । त्यसै गरि चङ्गालाई पृथ्वी र स्वर्गको सम्पर्कको माध्यमकोरुपमा पनि लिइन्छ ।

देश अनुसार चङ्गाहरूको विभिन्न शैली र प्रकार भएपनि नेपाली चङ्गाहरू मौलिक छन्। नेपाली चङ्गाहरूको बनोट प्रक्रियामा पनि फरक पाइन्छ । नेपालमा चतुर्भुज आकारका चङ्गाहरू बढी चलनचल्तीमा छन् । आधुनिकरणसंगै चंगा उडाउने प्रवृति लोप हुदै गएको हुदा चंगा व्यापार ठप्प छ । केही बर्ष अघिसम्म नेपालीहरुमा दशैंको उत्साहमा चंगाहरुले पनि रौनक थप्ने गर्दथे । चंगामा पनि विभिन्न पानबुट्टे, धर्के, पुच्छरे, धागो आदिका चंगाको ब्यापार बढी मात्रामा हुने गरेको असनका एक चंगा ब्यापारीको अनुभव छ । तर आधुनिकतासंगै सामाजिक सञ्जालमा भुलिएको युवा पुस्ताको चंगाप्रतिको मन चुँडिएपछि दशैंका आकाश रित्तो देखिन थालेका छन् । पुस्तौ देखि चंगाको व्यापार गर्दै आएका चंगा ब्यापारीहरु भने बर्षे पिच्छे चंगा उडान चलन हराएसंगै आफ्नो चंगाको व्यापार पछिल्ला बर्षका तुलनामा अधिक मात्रामा घटेको बताउछन् ।

पर्यटकप्रति समर्पित केही संस्थाहरुले चंगाप्रतिको आकर्षण बचाइराख्न चंगा चैटदेखि लिएर बिभिन्न प्रतियोगितात्मक चंगा उडान प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छन् । तर यस्ता प्रतियोगिताको समेत निरन्तरता नुहँदा मञ्जाको धागोले चुडिएको चंगा झै बन्दै गएको छ चंगाप्रति चुँडिएको युवा पुस्ताका मनहरु ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV