१८ आश्विन २०७४, बुधबार

काठमाडौँ । नेपाली राजनीति पुनः एक पटक तातिएको छ । मुलुक दुई ठूला वाम शक्ति एक ठाउँ उभिने उद्घोषले अबको राजनीति कता मोडिएला, तोकिएको निर्वाचनको भविष्य के होला ? तमाम प्रश्नहरु उब्जाइदिएको छ । केहीले शक्ति सन्तुलनका लागि गठबन्धनको अभ्यास सहि माने पनि तोकिएको निर्वाचनको भविष्यलाई लिएर कतिपयले चिन्ता व्यक्त गर्न थालेको छन् । दलहरु एकापसमा मिल्नु गलत होइन तर निहित स्वार्थ कता डोरिदैछ भन्ने गुह्य प्रश्न उठ्नु अस्वभाविक मानिदैन । दलहरु गठबन्धनमा जोडिदा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरि संविधान कार्यान्वयनमा जाने वातावरण बने मात्र देखिएको राजनीतिक परिदृश्य उपलव्धिमुलक मानिएला ।

दशैं सकिए लगतै नेपाली राजनीतिमा एउटा फरक दृश्य देखियो । मुलुकका दुई ठूला वाम दल एमाले र माओवादी केन्द्र सहयात्राको पर्दामा उत्रिए । इतिहास हेर्दा कम्युनिष्ट पार्टीको जुट भन्दा फुटले बढी महत्व पाएको तथ्य कतै लुकेको छैन । आ–आफ्नो अस्तित्वको लडाईमा रहेका दुई ठूला वाम शक्ति एक ठाउँमा उभिने उद्घोषले तरंग पैदा गर्नु अनौठो होइन । यति हुँदा हुँदै पनि दलीय एकतालाई नकारात्मक भन्न नमिल्ला तर निहित स्वार्थ के भन्ने प्रश्नको ज्वलन्त उत्तर समयले देखाउँदै जाला ।

अर्कोतर्फ संविधानसभाबाट बनेको संविधान कार्यान्वयनको पक्ष ऐतिहासिक मात्र होइन, नेपाली इतिहासमा पहिलो पनि हो । यही संविधान कार्यान्वयनका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा दलीय ध्रुविकरणले तमाम प्रश्नहरु तेर्साइदिएका छन् । के दलहरु निर्वाचनप्रति इमान्दार छन् ? वा अन्य कुनै शक्ति केन्द्रको इशारामा दलीय ध्रुविकरणले अस्तित्वको जरा गाडेको हो ? कतिपयले निर्वाचन प्रभावित हुने गरि वाम एकताको प्रयास भएको व्याख्या समेत गरेका छन् । अन्यथा निर्वाचन पछि वा स्थानीय तहको निर्वाचन अगावै एकता बहस किन भएन भन्ने सम्मको आम धारणा कम्ति आउन थालेका छैनन् । पछिल्लो राजनीतिक परिदृश्यले कैंयन संवैधानिक प्रावधानहरुमा समेत छलफलको अवस्था आएको कानूनविद्हरु बताउँछन् ।

माओवादी केन्द्र र एमालेको एकीकरणले आगामी निर्वाचनको भविष्य कहाँ नजिक सुरक्षित रहला वा जोखिमको अवस्था श्रृजना हुन सक्छ । यो आगामी परिदृश्यले देखाउँदै जानेछ । हुन त एमाले नेताहरुले निर्वाचन जसरी पनि गर्नुपर्ने बताउँदै आएका छन् । अर्को तर्फ उनीहरुले सरकारको नेतृत्व गरिरहेका कांग्रेसले गम्भीर भएर काम नगरे अर्कै परिणाम भोग्नुपर्ने चेतावनी समेत दिन भ्याएका छन् । अक्कसर नेपाली राजनीतिक परिवर्तन वा घटनाक्रममा बाह्य चासो निशन्देह हुने गरेको छ । पछिल्ला घटनाक्रममा पनि बाह्य स्वार्थले काम गरेको आकंलन गर्नेहरु पनि कम छैनन् । जे होस् राजनीतिक सहयात्राको अभ्यास मुलुकको हितमा प्रयोग हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV