१८ आश्विन २०७४, बुधबार

खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको समयमा पछिल्लो समय चितवनमा विदेशबाट आयात गरी उन्नत जातका बाख्रा पालन शुरु भएको छ । नेपालमा हुने खसीबोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षाका साथ उन्नत जातको बाख्रा पालन सुरु गरिएको हो ।

विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा चितवनमा व्यवसायिक रुपमा पाल्न सुरु गरिएको हो । बोयर अफ्रिकासँगै अष्ट्रेलियाबाट आयात गरिएको व्यवासायीको भनाई छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्मले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याएर पाल्न थालिएको छ ।

विभिन्न पेशा र व्यवसाय संगालेका ६ जनाले दुई वर्ष अघि शुरु गरेको सो फार्ममा स्थानीय जातका बाख्रा पाल्दै आएका थिए । तीन महिना अघि उनीहरुले अष्ट्रेलियाबाट चार वटा बोका र २४ वटा पाठी भित्रयाएका हुन् । शिक्षक, प्राध्यापक, भेटेनरी डाक्टर, व्यापारी मिलेर उक्त फर्म संचालन गरेको हो । फर्मका सञ्चालक रमेशचन्द्र आचार्यका अनुसार अष्ट्रेलियाबाट २८ वटा बोका र बाख्रा फर्मसम्म आईपुग्दा करिब ५६ लाख रुपैयाँ खर्च भएको छ । यसलाई हेर्दा एउटा बाख्रालाई सरदर दुई लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो । यी जातका बोका तथा बाख्रा नेपाली माटोको लागि निकै उपयोगी भएको आचार्यको भनाई छ ।

फर्ममा स्थानीय जातका १ सय १५ वटा छन् । स्थानीय खरी, जमुनापारी, बारबारी र तराई जातका रहेका छन् । बोयर जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने लक्ष्य फर्मले राखेको छ । जापानमा दुई वर्ष काम गरेर नेपालमै व्यवसाय गर्ने उद्देश्यका साथ फर्किनु भएका सोही समूहका अर्का संचालक आशिस बमले बाख्रामा राम्रो आम्दानी हुने देखेपछि साथीभाई मिलेर व्यवसाय थालेको बताउनुभयो ।

बोयरका पाठापाठीलाई तीनदेखि ६ महिनामा बिक्री गर्न सकिने र एक दिनमा १ सय ५० देखि तीन सय ग्रामसम्म तौल बढ्ने हुँदा खसी उत्पादनका लागि पनि यो जातको बाख्रा उपयुक्त हुने उहाँको भनाई छ । बाख्रालाई यी घाँसहरुका अतिरिक्त पराल, जै घाँस सुकाएर बनाएको हे, मकै, चोकर, सर्वाेत्तम पिठो पनि खुवाईने गरेको छ । एक हजार बाख्रा पुर्याउने लक्ष्यका साथ काम अगाडि बढेको फार्मले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV