१८ आश्विन २०७४, बुधबार

काठमाडौं । अब बिशाल बजारको करिब चार अर्ब बराबरको सेयर स्वामित्व सरकारको हुने भएको छ । वर्षौंदेखिको प्रयासपछि अन्ततः विशाल बजार कम्पनी लिमिटेडको करिब चार अर्ब रुपैयाँबराबरको सेयर स्वामित्व सरकारको नाममा कायम हुने बाटो खुलेको हो ।

लिमिटेडको गत ११ भदौको सञ्चालक समिति निर्णयबाट तीन अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर सरकारी स्वामित्वमा ल्याउने निर्णय लिएको थियो ।उक्त निर्णयसँगै लिमिटेडको प्रबन्धपत्र र सेयर स्वामित्व सरकारको नाममा कायम गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र पठाइएको सञ्चालक समिति अध्यक्ष लवराज जोशीले जानकारी दिए ।

कम्पनी रजिस्ट्रारबाट सहमति पाएपछि लिमिटेडको झण्डै ९८ प्रतिशत सेयर सरकारको नाममा आउनेछ । हाल विशाल बजारको कुल पूँजी पाँच करोड रुपैयाँ छ । त्यसमध्ये खाद्य संस्थानको १५, नेसनल ट्रेडिङ लिमिटेडको १४ र कृषि सामग्री कम्पनी लिमिटेडको पाँच प्रतिशत सेयर स्वामित्व छ । बाँकी सेयर भने व्यापारी र सर्वसाधारणको नाममा छ ।

सरकारी जग्गा निर्माण भई सञ्चालनमा रहे पनि लिमिटेडको स्वामित्व सरकारको नाममा आउन सकेको थिएन । यसअघि मंसिर ०६७ मा सर्वोच्च अदालतले पनि त्यहाँको सेयर स्वामित्व सरकारको नाममा कायम गर्ने आदेश दिए पनि कार्यान्वयन हुन सकेको थिएन । सर्वोच्चको आदेशविरुद्ध रिट परेपछि जेठ २०७२ सालमा सर्वोच्चले सरकारकै पक्षमा फैसला दिएको दिएको थियो ।

२०२५ सालमा स्थापना भएको विशाल बजार बहुदल आउनुअघि अञ्चलाधीश कार्यालयमातहत सञ्चालन हुँदै आएको थियो । ०४६ सालमा बहुदल आएपछि सेयरधनीहरुले चलखेल गरेर आफूखुशी भाडामा लगाउँदै अकुत सम्पत्ति कमाउँदै आएका छन् । सरकारले हस्तक्षेप गरेर सेयर लिन नसक्दा लिमिटेडको बर्सेनि करोडौं आम्दानी गुम्दै आएको छ । अख्तियारले यस सम्बन्धमा पटक–पटक चासो व्यक्त गर्दै आएको छ ।

लिमिटेडको स्वामित्व सरकारको नाममा आउने हो भने त्यहाँबाट हाल आएकोभन्दा तीन गुणा बढी रकम सरकारको ढुकुटीमा जम्मा हुनेछ । हाल लिमिटेडबाट सरकारलाई वार्षिक १५ करोड रुपैयाँ आम्दानी छ । त्यहाँको स्वामित्व सरकारका नाममा आउने हो भने वार्षिक अनुमानित ४५ करोड रुपैयाँसम्म सरकारलाई आउने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV