१८ आश्विन २०७४, बुधबार

काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिबीच तालमेल गरेर जाने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको हो । मंगलबार मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बृहत बाम गठबन्धन बनाउने सहमति भएको थियो ।

त्यस्तै कांग्रेस बैठकले बाम शक्तिबीचको एकताले संविधान कार्यान्वयनमा असर पुर्‍याउने ठहर पनि गरेको छ । कांग्रेसकै नेतृत्वमा निर्वाचन गर्नका लागि माओवादी बाहेकका दलहरुलाई सरकारमा सहभागी गराउन पहल गर्ने निर्णय पनि कांग्रेस कार्यसम्पादन समितिले गरेको छ ।

वैठकले चुनावी तालमेलका विषयमा छलफल गर्न आजै दिउँसो साढे ४ बजे राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यव्यवस्था समिति बैठकले छरिएर रहेका लोकतान्त्रिक शक्तिहरुलाई एकीकरण गरेर लैजाने निर्णय गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जनाए । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वाम एकता भएसँगै कांग्रेसले पनि लोकतान्त्रिक शक्तिबीच एकताको अभियान थालेको हो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV