१८ आश्विन २०७४, बुधबार

एजेन्सी । युरोपियन मुलुक स्पेन संकटमा देखिएको छ । विवादास्पद जनमत संग्रह पछि क्याटलोनिया स्पेनबाट छुट्टिने तरखरमा रहेको छ । क्याटालोनियाका सरकार प्रमुख कारलस पूजमोनले आगामी हप्ताको शुरुतिर स्पेनबाट स्वतन्त्र भएको घोषणा गरिने बताएका छन् ।

पूजमोनले स्पेन सरकारले हस्तक्षेप वा क्याटलोनियामाथि कब्जा गर्ने प्रयास गरे त्यो उसको अन्तिम गल्ति हुने चेतावनी दिएका छन् । विविसीसँगको एक अन्तरवार्तामा उनले क्याटालोनियाका जनतालाई अलग राष्ट्र बनाउने मत जाहेर गरेकाले आफूहरु छिट्टै अलगिने बताए ।

उनले जनमत संग्रहका क्रममा स्पेनको राष्ट्रिय प्रहरीले गरेको दमनबारे युरोपेली आयोगको प्रतिक्रिया निराशाजनक भएको टिप्पणी गरे । सोमवार एउटा विज्ञप्ति जारी गर्दै युरोपेली आयोगले क्याटलोनियामा भएका घटनाहरु स्पेनको आन्तरिक मामिला भएको बताएको थियो ।

स्पेनका राजा फेलिप छैठौंले देशवासीलाई सम्बोधन गरे लगत्तै दिएको अन्तर्वार्तामा पूजमोनले मड्रिड केन्द्र सरकार र आफ्नो सरकारबीच हाल कुनै सम्पर्क नरहेको बताए । सम्बोधनका क्रममा स्पेनका राजाले जनमत संग्रहका आयोजकहरुले आफूहरुलाई कानून बाहिर राखेको बताएका थिए । उनले जनमत संग्रहका आयोजकहरुले राज्यसत्ताप्रति अपमान दर्शाएको टिप्पणी समेत गरेका थिए । स्पेनको स्थिति अति गम्भीर रहेपनि त्यसबाट पार पाउने उनले विश्वास व्यक्त गरे ।

यसअघि आइतवारको जनमत संग्रहमा राष्ट्रिय प्रहरीले मतदाताविरुद्ध दुव्र्यवहार गरेको भन्दै दशौं हजार मानिसले क्याटलोनियामा प्रदर्शन गरेका थिए । केन्द्र सरकारले पृथकतावादीहरुले गराएको उक्त जनमत संग्रहलाई गैरकानूनी भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV