१८ आश्विन २०७४, बुधबार

काठमाडौँ । नेपालमा खाना पकाउने एलपीजी ग्याँसको आयात बर्षेनी बढ्दै गएको छ । शहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्याँसको खपत बढ्दै गएकाले पनि आयात सोही अनुसार बढेको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा दुई लाख ५९ हजार नौ सय मेट्रिक टन ग्यास आयात भएकोमा आर्थिक वर्ष ०७३÷०७४ मा तीन लाख १४ हजार आठ सय मेट्रिक टन आयात भएको छ । आर्थिक वर्ष ०७२÷७३ भारतले गरेको नाकाबन्दीका कारण दुई लाख १७ हजार मेट्रिक टन आयात भएको थियो ।

निगमका अनुसार गएको वर्ष खाना ग्याँस आयात गर्नका लागि बर्षेनी १९ अर्ब भन्दा बढी रकम बाहिरिएको छ । अत्यावश्यक वस्तुको रुपमा रहेको ग्याँसको खपत बढ्दै गएकाले पनि आयात दर बर्षेनी बढ्दै गएको हो । निगमका अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा १९ अर्ब ४८ करोड ९७ लाख ८८ हजार रुपैयाँ बराबरको तिन लाख १४ हजार आठ सय पाँच मेट्रिक टन ग्यास आयात भएको छ ।

छिमेकी मुलुक भारतबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । पछिल्लो समय गाउँ गाउँमा समेत ग्याँसको प्रयोग हुन थालेपछि यसको खपत बढ्दै गएको हो । निगमका अनुसार वार्षिक रुपमा २० देखि २५ प्रतिशतका दरले ग्याँसको खपत बढ्दै गएकापनि आयात बढ्दै गएको छ ।

LIVE TV