१८ आश्विन २०७४, बुधबार

असोज १८,२०७४

वाम गठबन्धन बनेपछि संसदको ठूलो दल नेपाली कांग्रेसले समेत लोकतान्त्रिक गठबन्धन बनाउने तयारी थालेको छ । कांग्रेसले राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा लगायतका दलहरुसँग छलफल गर्ने भएको छ ।

सत्तासाझेदार दल माओवादी केन्द्र र विपक्षी एमालेबीच भएको गठबन्धनपछि कांग्रेसले पनि गठबन्धनको तयारी थालेको हो । वाम गठबन्धनले लोकतन्त्र धरापमा पर्ने निष्कर्ष सहित कांग्रेसले लोकतान्त्रिक गठबन्धनका सन्दर्भमा निर्णय लिन कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केही बेर पछि प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा आगामी रणनीति तयार पारिने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

लोकतान्त्रिक गठबन्धनका लागि प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल अघि बढाउनुभएको छ । उहाँले मंगलबार बेलुका नै नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो । देउवाले राजपाका संयोजक महन्थ ठाकुर र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणासँग पनि छलफल गर्ने तयारी गर्नुभएको बताइएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV