१८ आश्विन २०७४, बुधबार

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नंको बस ब्रेक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामहरि पाण्डेले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा घाइते २० मध्ये ६ जनाको अवस्था गम्भीर देखिएको छ।

‘घाइते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । गम्भीर भएकालाई भौगोलिक अवस्थाका कारण तत्काल अन्यत्र पठाउनसक्ने अवस्था छैन’, उनले भने, ‘बुधबार बिहान मात्रै रिफरको काम हुन्छ ।’ दशैँ बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अर्जुनबहादुर ढकालका अनुसार बस ब्रेक फेल हुँदा दुर्घटना भएको हो । सोही स्थानमा दुई महिनाअघि दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो । ‘यसभन्दा अघि दुर्घटना भएको ठाउँमै दुर्घटना भएको छ । घाइते विभिन्न जिल्लाका छन्,’ उनले भने।,खबर नया पत्रिकामा छ ।

घाइतेका आफन्तजनले तत्काल सुविधासम्पन्न अस्पतालमा रिफर गर्न आग्रह गरे पनि जीर्ण बेनी–जोमसोम सडक र रातको समयमा हवाई उडान सम्भव नभएका कारण जिल्ला अस्पतालमै राखेर उपचार गर्नु परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV