१७ आश्विन २०७४, मंगलवार

बङ्गलादेशमा रहेका म्यान्मारी शरणार्थीलाई स्वदेश फिर्ता पठाउनका लागि म्यानमार र बङ्गलादेश सम्मिलित एक संयुक्त कार्य समूह गठन गर्ने विषयमा सहमति भएको छ।

बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि र म्यान्माली राज्य परिषदका राज्यमन्त्री उ च्यको नेतृत्वमा बङ्गलादेश आएको प्रतिनिधिमण्डलसँगको कुराकानीपछि यस विषयमा सहमति भएको बताइएको छ।

बङ्गलादेशसँग रोहिङ्गाको विषयमा आवश्यक छलफल गर्ने उद्देश्यले म्यान्मारको प्रतिनिधिमण्डल बङ्गलादेशको राजधानी ढाका आइपुगेको हो।

दुवै पक्षबीच रोहिङ्गा शरणार्थीलाई के कसरी फिर्ता लैजाने भन्ने बारेमा कुराकानी भएको जनाइएको छ । अगष्ट २५ मा म्यानमारको राखिन राज्यमा रहेका प्रहरी चौकीमाथि नै रोहिङ्गा समर्थक सशस्त्र हतियारधारीले हमला गरेका थिए।

हमलाको कारबाहीस्वरुप भन्दै म्यानमारको सेनाले रोहिङ्गा बस्तीमै पुगेर उक्त समुदायका सदस्यहरुमाथि नै आक्रमण गरेको थियो। यसका कारण ठूलो सङ्ख्याका नागरिक घाइते भएका थिए भने केहीको ज्यान गएको थियो।

रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो। त्यसयता विवाद चर्किँदै गएको छ। यसरी भड्किएको हिंसापछि म्यानमारका ठूलो सङ्ख्याका नागरिक भागेर बङ्गलादेश पुगेका हुन्।

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्रै तथा अरु करिब साढे चार लाखजति बङ्गलादशेमा विस्थापित भएका छन्।

विवादका कारण ती लाखौँजना रोहिङ्गाले देश छोडेका छन्। जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि म्यानमारको ठूलो आलोचना भएको छ। रासस/सिन्ह्वा

LIVE TV